ए प्रेमका पुजारीहरू हो
मन भित्र लुकेको
प्रिय मान्छेलाई
मन भित्रै राखेर पुजा गर्न
कुन सामग्री चाहिएला?
प्रेमको साटो प्रेम साट्न
यक्ष समय पर्खेर
कुन मुहुर्त निकाल्नु पर्ला
कुण्डलीको कुन स्थानमा
चढाउनु पर्ला
सग्ला साक्षात्
प्राणेश्वरको रक्षा गर्ने अक्षताहरू
सम्झिरहन त
सायदै चाहिन्न होला
प्रेम प्राञ्जलको करारनामा
फगत सम्झेर निश्चित प्रेम साटेका
घडी र पलाहरू
तिमी र म बाहेक
कुन ज्यौतिषिकले भन्लान् र
घटित कृत्य
यकिन छैन
तिमीलाई संझदा चलेको बाडुल्की
कति घुट्को पानीले रोकिने हो
कतिवटा दलिन गनेर
साम्य हुने हो हिक्क.. हिक्क
ए निर्मम समय
रोक्न नखोज
मेरा संझनाका श्रृखलाहरू
तिमी भन्दा पनि वलशाली छन्
निमेषमा प्रतिपुष्पित हुने प्राग्जैविक प्रेम ।