बागलुङ, असोज २९ गते ।
सशस्त्र प्रहरी बलले पश्चिम बागलुङको तमानखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट विपद् प्रभावितका लागि प्राप्त १८ प्रकारका खाद्य सामग्री समावेश गरिएका १५ कार्टुन राहत सामग्री बुधबार गाउँपालिकाका १५ पीडित परिवारलाई वितरण गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर बागलुङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पदम सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले विपद् प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको हो।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा तथा वडा अध्यक्षद्वय झकबहादुर बुढा र छप्रसाद श्रीपालीको उपस्थितिमा वडा नं. ३ का छ र वडा नं. ४ का नौ परिवारलाई राहत वितरण गरिएको थियो। राहतबाट दुवै वडाका १५ परिवार लाभान्वित भएको सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो।
प्रधान कार्यालयबाट प्राप्त राहत सामग्रीमा चामल, पिठो, चिनी, कालो चिया, खजुर, पास्ता, खुबानीबाट बनेको खाद्य पदार्थ, मसला, चिकेन नुडल सुप, पाम तेल, ओलिभ तेल, नुन, टोमाटो पास्ता, मह, चना, फाभा, ताहिना र हेजलनट क्रिमलगायत १८ प्रकारका खाद्य सामग्री समावेश थिए।
विपद् प्रभावित क्षेत्रमा पुगेरै राहत वितरण गर्दा पीडित परिवारलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराउन सहयोग पुगेको भण्डारीले बताउनुभयो। विपद्का बेला पीडित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बलले मानवीय सेवालाई प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाइ थियो।

