बेनी (म्याग्दी), असोज २९ गते ।
म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । असोजको दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले कुण्डमा हिलो, बालुवा र गेग्रान थुपारेपछि बन्द भएको स्नान सेवा स्थानीयवासी, युवा क्लब, आमा समूह तथा सुरक्षाकर्मीको श्रमदानबाट सरसफाइ गरी बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
कुण्ड सञ्चालनमा आएसँगै बिरामी तथा पर्यटक स्नानका लागि आउन थालेका छन् । मुख्य पोखरी र परिसरमा थुप्रिएको लेदो श्रमदानबाट हटाएर स्नानयोग्य बनाएपछि बुधबारदेखि कुण्ड पुनः सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।

पुनः सञ्चालनको पहिलो दिन २० देखि २५ जनाले स्नान गरेको जानकारी दिँदै उहाँले दसैँपछि कुण्डमा स्नान गर्न आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको बताउनुभयो ।
कुण्ड बन्द हुँदा तातोपानी बजारसमेत सुनसान बनेको थियो । असोज र कात्तिकलाई तातोपानी कुण्डमा स्नान गर्न उपयुक्त मुख्य याम मानिन्छ । स्नान गर्नेको चाप बढी हुने समयमा कुण्ड बन्द हुँदा स्थानीय व्यापार–व्यवसायसमेत प्रभावित भएको थियो । कुण्ड पुनः सञ्चालनमा आएसँगै स्थानीय व्यवसायी उत्साहित भएका छन् ।
कुण्डमा रहेका तीन पोखरीमध्ये उपचारका लागि बिरामीले स्नान गर्ने ठुलो र माथिल्लो पोखरीमा बाढीले हिलो थुपारेको थियो भने पर्यटकका लागि निर्माण गरिएको सानो पोखरी पहिरो र बाढीले भत्काएको थियो । कुण्डको मर्मतसम्भार तथा पुनर्निर्माणका लागि करिब दुई करोड रुपियाँभन्दा बढी खर्च लाग्ने व्यवस्थापन समितिले जनाएको छ ।
कुण्ड परिसरका अन्य संरचनामा समेत क्षति पुगेको छ । कपडा फेर्ने भवन र तातोपानी भण्डारण गर्ने ट्याङ्की रहेको भवन पहिरोले भत्काएको छ । खुला स्नानस्थलसमेत पहिरोले पुरिएको छ । श्रमदानबाट मुख्य पोखरीमा थुप्रिएको हिलो र लेदो हटाइएको हो ।
अन्य पोखरी तथा क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र पुनर्निर्माणका लागि स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
गत आर्थिक वर्ष २०८२/८३ मा २१ हजारभन्दा बढीले सिंगा तातोपानी कुण्डमा स्नान गरेका थिए । प्राकृतिक उपचारका लागि नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत मानिस यहाँ आउने गरेका छन् । म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी सङ्कलन गरी निर्माण गरिएका पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइएको छ । कुण्डको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ भने पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ ।
तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास छ । असोजदेखि वैशाखसम्मको अवधिलाई तातोपानी कुण्डमा स्नान गर्न उपयुक्त याम मानिन्छ ।

