alliance khabar

सोमबार, आश्विन २६, २०८३

काठमाडौँ, असोज २६ गते ।

प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको खर्च र आम्दानीको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । जस अनुसार वर्तमान संविधान कार्यान्वयन भएयता आव २०७३/७४ देखि सरकारले प्रत्येक वर्ष सोही दिन संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै आएको छ । चालु आव २०८३/८४ का लागि पनि सरकारले गत जेठ १५ गते सरकारको कार्यक्रम र आयव्यय विवरण समेटिएको बजेट सार्वजनिक गरेको छ ।

गत जेठमा बजेट सार्वजनिक गरेको सरकारले असोज २४ गते अर्को बजेट पनि सार्वजनिक गरेको छ, जसलाई अर्थ मन्त्रालयले ‘नागरिक बजेट’ नाम दिएको छ । ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ नारा दिइएको उक्त बजेट कुनै नयाँ बजेट भने होइन । न त ‘नागरिक बजेट’ भनेर संसद्ले हालै कुनै दस्ताबेज नै पारित गरेको छ ।

अर्थ मन्त्रालयले शनिबार आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उक्त बजेट पुस्तिका चालु आवको बजेट तथा कार्यक्रमलाई सरल रूपमा आमनागरिकसमक्ष बुझाउने उद्देश्यले तयार गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उल्लेख गर्नुभएको छ । राज्यको खर्च र विनियोजन प्रक्रिया पारदर्शी तथा जवाफदेही बनाउने दायित्व सरकारको भएकाले नागरिक बजेटमार्फत सर्वसाधारणले सहजै बुझ्ने भाषामा बजेटका प्राथमिकता, करका प्रावधान र विकासका लक्ष्यलाई समेटिएको उहाँको भनाइ छ ।

के छ ‘नागरिक बजेट’ मा ?

चालु आवमा सरकारले सार्वजनिक गरेको बजेटलाई ‘नागरिक बजेट’ मा विभिन्न विषय छुट्याएर सरल रूपमा बुझाउने कोसिस गरिएको छ । मूल बजेटको तथ्याङ्कलाई प्रस्तुत गर्दै बजेट निर्माणको प्रक्रियादेखि, चालु बजेटका विशेषता, बजेटबाट कसले के पाउँछन्लगायतका विषय समेटिएका छन् ।

‘नागरिक बजेट’ ले मुख्य रूपमा सरकारसँग रहेको स्रोत, त्यसको खर्च हुने ठाउँ र नागरिकले पाउने विषय सम्बोधन गर्ने उल्लेख गरिएको छ । बजेटको सुरुवातमा नेपालको वार्षिक बजेट निर्माण चक्र र प्रक्रिया उल्लेख छ । जस अन्तर्गत बजेट निर्माण गर्दा समष्टिगत आर्थिक खाका तथा वित्त नीतिबाट बजेट चक्र सुरु हुँदै बजेट तर्जुमा, बजेट स्वीकृति, बजेट कार्यान्वयन, अनुगमन, लेखाङ्कन तथा प्रतिवेदन, लेखा परीक्षण तथा मूल्याङ्कनका विभिन्न छ चरण पार हुने जनाइएको छ । त्यस्तै बजेट तर्जुमा प्रक्रियामा हरेक चरणको व्याख्या, जिम्मेवारी र समयसीमासमेत तोकिएको छ ।

‘नागरिक बजेट’ ले चालु बजेटको मुख्य लक्ष्य तथा विशेषतालाई बुँदागत रूपमा प्रस्तुत गरेको छ, जसमा सुशासन कायम गर्ने विषयलाई मुख्य लक्ष्य मानिएको छ । त्यस्तै नीतिगत तथा कानुनी सुधार, सुशासन र सेवा प्रवाहसहित बजेटका नौ वटा विशेषता प्रस्तुत गरिएको छ । त्यसपछि चालु आवको बजेटका अङ्क, आर्थिक लक्ष्य, सार्वजनिक ऋण र आम्दानीका स्रोतलाई क्षेत्रसहित राखिएको छ ।

चालु बजेटले गरेका मुख्य परिवर्तनलाई बुँदामा राखिएको छ । जस अन्तर्गत व्यक्तिगत आयकरको छुट सीमा बढाइएको र करका दर हटाइएको विषयलाई प्राथमिकतासाथ प्रस्तुत गरिएको छ । उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा घटाइएको भन्सार दर, ६० प्रकारका वस्तुमा लाग्ने अन्तःशुल्क हटाइएको विषय यस अन्तर्गत राखिएको छ । सङ्घीयताका सन्दर्भमा चर्चा भइरहने वित्तीय सङ्घीयताको विषयलाई पनि नागरिक बजेटमा प्रस्ट पार्न खोजिएको छ । सरकारको तह अनुसार उठाउन पाउने करको छुट्टै सूची राखिएको छ । त्यस्तै सरकारबिच राजस्व बाँड्ने र अनुदान जाने तरिकाको पनि व्याख्या गरिएको छ ।

‘नागरिक बजेट’ ले कुन कुन काममा बजेटको खर्च हुन्छ भन्ने जिज्ञासालाई मन्त्रालय र निकायगत रूपमा प्रस्तुत गरेको छ । यसले बजेट कहाँ खर्च हुने भन्ने जनचासो सहजै बुझ्न सहयोग पुर्‍याउँछ । त्यस्तै बजेट खर्चलाई कामका आधारमा पनि वर्गीकरण गरिएको छ । बजेटलाई लैङ्गिक, जलवायु, दिगो विकास लक्ष्यको आयामबाट पनि प्रस्तुत गरिएको छ ।

चालु बजेट खर्च हुने मुख्य कार्यक्रम तथा क्षेत्रको पनि सूचीसहित बजेट प्रस्तुत गरिएको छ । जस अन्तर्गत सरकारको लक्ष्य र कार्यक्रमलाई तालिकामार्फत नै देखाइएको छ । सडक पूर्वाधार, स्वच्छ खानेपानी तथा सरसफाइ, स्वच्छ ऊर्जा विकास, सिँचाइ पूर्वाधार विकास, कृषि तथा पशुपन्छी विकास, वन, वातावरण तथा जलवायु, शिक्षा, खेलकुदलगायत क्षेत्र समेटिएको छ ।

बजेटमा घोषणा गरिएको सामाजिक सुरक्षा कसले कति पाउँछ भनेर प्रस्टसँग तालिकामा प्रस्तुत गरिएको छ । त्यसपछि यो बजेटमा कसले के पाउँछ शीर्षकमा लक्षित समूह र बजेटमार्फत गरिएका प्रमुख व्यवस्था प्रस्तुत गरिएको छ । जस अन्तर्गत किसान, विद्यार्थी, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, श्रमिक, विपन्न तथा नागरिक, सबै नागरिक, करदाता, उद्योगी तथा उद्यमीले के पाउँछन् भन्ने विषयलाई स्पष्टसँग बुँदागत रूपमा राखिएको छ ।

आगामी बजेटमा योजना समावेश गराउने प्रक्रिया पनि ‘नागरिक बजेट’ मा उपलब्ध गराइएको छ । त्यस्तै बजेटमा प्रस्तुत भएका प्राविधिक शब्दको अर्थ पनि प्रस्तुत गरिएको छ । बजेटबारे कुनै विषय बुझ्नु परे त्यसको सम्पर्क र बजेटसँग सम्बन्धित अन्य दस्ताबेजको लिङ्क पनि उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ