गुल्मी, असोज २६ गते।
गुल्मीको धुर्कोट दरबारमा ऐतिहासिक संग्राहलय निर्माण गरिएको छ । पुर्खाहरूले जीविवकोपार्जनका लागि प्रयोग गर्ने सामग्रीसहितको संग्राहलय निर्माण गरिएको हो ।
एक कार्यक्रमबिच उक्त संग्राहलयको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गर्नुभयो । संग्राहलयमा एक सयभन्दा बढी ऐतिहासिक सामग्रीहरू राखिएको छ । जसमा मदानी, ठेकी, माटाका खुत्रीकी, हलो, जुवाँ, कोदालो, फरुवा, जोतारा लगायतका सामग्रीहरू राखिएका छन् ।
त्यसैगरी डोको, नाम्लो, विभिन्न मूर्तिहरू, काठ तथा फलामबाट बनेका विभिन्न सामग्रीहरू पनि संग्राहलयमा सुरक्षित गरिएको छ । धुर्कोटका साथसाथै विभिन्न ठाउँबाट उक्त सामग्रीहरू संकलन गरि संग्राहलयमा राखिएको हो ।
धुर्कोट गाउँपालिका २०७६ सालबाट धुर्कोट कोट नजिकैको जग्गा खरिद गरी संग्राहलय र मन्दिर निर्माणको काम अगाडि बढाएको थियो । हाल मन्दिर र संग्राहलयको निर्माण सम्पन्न भई अवलोनका लागि खुल्ला गरिएको छ ।
अहिलेका पुस्ताले पुराना सामग्री, चालचलन एवं रितिरिवाज बिर्सँदै गएकाले पुराना कुराको संरक्षणका निम्ति संग्राहलयको निर्माण गरिएको गाउँपालिका अध्यक्ष पोखरेलले बताउनुभयो ।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष सीता गिरीले संग्राहलयमार्फत पर्यटक आकर्षित गरी स्थानीय जीवनस्तर उकास्ने सम्भावना रहेको बतनउनुभयो।
संग्राहलय अवलोकनको लागि विद्यार्थी र फरक क्षमता भएका व्यक्तिलाई १० एवं अन्य व्यक्तिहरूलाई २० रुपियाँ शुल्क तोकिएको गाउँपालिकाका वास शाखा संयोजक छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।
संग्राहलयभित्र २०७४ र २०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरू, संग्राहलय निर्माण समितिका नामावली उल्लेख गर्नुका साथै धुर्कोट र अन्य ठाउँका मुख्य पर्यटकीय स्थलको भित्तेचित्र गरी संग्राहलयलाई आकर्षित गरिएको छ।

