काठमाडौँ, असोज २६ गते ।
रोहित पौडेलेको कीर्तिमान शतकको सहयोगमा नेपालले आइतबार आइसिसी क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले हराएको छ ।
विश्वकप लिग–२ मा नेपालको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको छ । आठ टिम सहभागी यस प्रतियोगिताबाट विश्वकप एकदिवसीयको छनोटमा सिधा प्रवेश पाउन शीर्ष चारमा पर्न आवश्यक छ । यद्यपि यस जितले नेपालको एकदिवसीय मान्यता जोगाउने अभियान बलियो भएको छ । नेपाल आइतबार क्यानडालाई हराएर अङ्क तालिकाको छैटौँ स्थानमा उक्लेको छ । एकदिवसीय मान्यता जोगाउन शीर्ष छमा पर्नुपर्ने हुन्छ । क्यानडा भने सातौँ स्थानमा झरेको छ । नेपालको ३३ खेलबाट २६ अङ्क भएको छ । क्यानडा ३४ खेलमा २५ अङ्कमा रहेको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर क्यानडाले नेपाललाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको थियो । नेपालले कमजोर सुरुवातपछि ब्याटिङका लागि कठिन पिचमा अन्तिम बलमा अलआउट हुँदै २३५ रन बनायो । क्यानडाले जवाफमा आठ बल बाँकी छँदै २११ रनमा सीमित भयो ।
रोहितको कीर्तिमान शतक
रोहितको तेस्रो शतक १२७ बलमा १०१ रन बनाएपछि नेपालले चुनौतीपूर्ण स्कोर तयार पार्न सफल भएको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो । रोहित तीन ओडिआई शतक बनाउने नेपालका पहिलो ब्याट्सम्यान बन्नुभएको छ । यसअघि उहाँले पपुआ न्युगिनी र संयुक्त अरब इमिरेट्सविरुद्ध शतक बनाउनुभएको थियो । रोहितले कुशल भुर्तेल, असिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई उछिन्नुभएको हो । कुशल, आसिफ र दीपेन्द्रको नाममा दुई÷दुई ओडिआई शतक रहेको छ ।
रोहितले क्यानडाविरुद्धको शतक बनाउने क्रममा तीन उपयोगी साझेदारी निर्वाह गरी नेपालको पालि समाल्नुभएको हो । खेलको तेस्रो ओभर सकिँदा नेपालले १० रनमा दुई विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याट्सम्यान आसिफ चार र ‘वन डाउन’ ब्याट्सम्यान ईशान पाण्डे शून्यमै पवेलियन फर्कनुभएको थियो । यी दुवै ब्याट्सम्यान स्लिपमा क्याचआउट भएका हुन् ।
त्यसपछि क्रिजमा आएका रोहितले प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालसँग मिलेर तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्नुभयो । अर्जुन लगातार दुई चौका प्रहार गरेपछि पुनः आक्रामक हुने चक्करमा सुखिन्दर सिंहको बलिङमा क्याचआउट हुनुभयो । अर्जुनले ५४ बलको सामना गरी चार चौकासहित २३ रन बनाउनुभयो । उहाँ आउट भएपछि रोहितले चौथो विकेटका लागि बसिर अहमदसँग मिलेर ७७ रनको अर्को महìवपूर्ण साझेदारी निर्वाह गर्नुभयो ।
बसिर ५७ बलमा ३० रन बनाएर सुखिन्दरको बलिङमा उहाँलाई नै क्याच दिनुभयो । त्यसपछि दीपेन्द्र पनि छ रनम सुखिन्दरकै बलिङमा बोल्ड भएपछि नेपालले ३८ ओभरमा १४१ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो । त्यसपछि रोहितले गुल्सन झासँग मिलेर छैटौँ विकेटका लागि तेज गतिमा गरेको ८२ रनको साझेदारी नेपाली जितको आधार बन्यो । गुल्सनले ३४ बलमा ४८ रन बनाउनुभयो । उहाँको पालिमा चार चौका र तीन छक्का सामेल थियो । नेपालका पुछारका ब्याट्सम्यानको प्रदर्शन उल्लेखलायक रहेन । करण केसी चार तथा नन्दन यादव र र ललित राजवंशी दुई/दुई रनमा आउट हुनुभयो । कप्तान सन्दीप लामिछाने दुई रनमा अविजित रहनुभयो । क्यानडाका लागि तेज बलर अखिल कुमारले सर्वाधिक चार विकेट लिनुभयो ।
बलिङमा एकजुट प्रदर्शन
नेपालको स्तरीय बलिङ आक्रमणलाई पार लगाएर २३६ रन बनाउनु क्यानडालाई कठिन हुने अनुमान पहिले नै गरिएको थियो । नेपाल बलरले पनि अपेक्षा गरे अनुरूप नै बलिङ गरे । प्रारम्भिक ब्याट्सम्यान युवराज साम्रालाई एक रनमा करण केसीले एलबिडब्लु आउट गर्नुभयो । त्यसपछि आरोन जोन्सन र समित गोहेलले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी निर्वाह गरी नेपाललाई तर्साएको थियो । तेज गतिमा ब्याटिङ गरिरहेका जोन्सन (४९ बलमा ४४ रन) लाई सन्दीपले आउट गरेर नेपाललाई खेलमा फर्काउनुभयो । अर्को बलमा समित पनि ३५ रनमा रन आउट हुनुभयो । त्यसपछि अर्को ठुलो साझेदारी बन्न सकेन । श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ र आठौँ क्रमका ब्याट्सम्यान अखिल कुमारले अविजित ३० रन बनाएर क्यानडाको जितको सम्भावनालाई भने कायम राख्नुभएको थियो । नेपालका लागि सन्दीप, करण, ललित र नन्दनले समान दुई/दुई विकेट लिनुभयो ।
क्रिजमा टिक्ने योजना
रोहित खेलपछि ‘प्लेअर अफ दी म्याच’ घोषित हुनुभयो । उहाँले प्रशिक्षक स्टुवार्ट लको निर्देशन अनुसार सकेसम्म लामो समय क्रिजमा टिकेर ब्याटिङ गरेको बताउनुभयो । “रणनीति सफल भयो र शतकले जित आएकाले खुसी भएको छु,” रोहितले भन्नुभयो । नेपालका कप्तान सन्दीपले क्रिजमा कसरी टिकेर खेल्नु पर्छ भनेर रोहितले देखाएको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालका सबै बलरले राम्रो बलिङ गरेकाले पनि जित हासिल गर्न सफल भएको बताउनुभयो ।

