alliance khabar

आइतबार, आश्विन १८, २०८३

भैरहवा, असोज १८ गते ।

उत्तरी नाकाबाट हुने आयात सडक अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्र्याउने क्रम बढ्दा रुपन्देहीको भैरहवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढेको छ । बाढीपहिरो र डुबानका कारण देशका विभिन्न सडकसमेत प्रभावित भएपछि भैरहवा नाकामा आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउनसमेत समस्या देखिएको छ ।

चीनसँग जोडिएका रसुवागढी, तातोपानी र कोरला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन् । त्यससँगै वर्षाका कारण देशभित्रकै सडक तथा राजमार्ग अवरुद्ध हुँदा भारतबाट आएका सामानसमेत समयमै गन्तव्यमा पुग्न नसक्दा भैरहवा नाकामा सवारीको चाप बढेको हो ।

भैरहवा भन्सार कार्यालयका अनुसार मालवाहक सवारीको चाप व्यवस्थापन गर्न नेपाल र भारततर्फको भन्सारबिच समन्वय गरी नाका सञ्चालनको समयसमेत बढाइएको छ । सामान्य अवस्थामा राति करिब १० बजेपछि बन्द हुने भन्सार सिमानाका अहिले राति १ बजेसम्म सञ्चालनमा ल्याइएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भारतीय पक्षसँग समन्वय गरी भारतबाट नेपालतर्फ मालवाहक सवारी प्रवेशका लागि अतिरिक्त समयको व्यवस्था गरिएको बताउनुभयो । उहाँले सडकमा रोकिएका मालवाहक सवारी क्रमशः गन्तव्यतर्फ जान थालेपछि नाकामा रहेको चाप घटाउन थप समयसम्म भन्सार सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चाडपर्वको समयमा बजारमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित नहोस् भनेर पनि अतिरिक्त समयसम्म भन्सार सञ्चालन गरिएको हो ।”

वर्षाका कारण नेपालका विभिन्न प्रमुख सडक तथा राजमार्ग अवरुद्ध हुँदा भारतबाट नेपालका लागि सामान बोकेर आएका सयौँ मालवाहक सवारी लामो समयसम्म भैरहवा नाकामा रोकिएका थिए । भन्सार कार्यालयको परिसरदेखि भैरहवा–बुटवल व्यापारिक मार्ग हुँदै भारतको सुनौलीसम्म मालवाहक सवारीको लामो लाइन लागेको थियो ।

भैरहवा नाकामा मालवाहक सवारीको जाम भारततर्फ करिब १४ किलोमिटरसम्म पुगेको छ । सडक अवरोधका कारण सामान ढुवानीमा ढिलाइ हुँदा आयातकर्ताले अतिरिक्त समय र लागतसमेत बेहोर्नु परेको व्यवसायीको भनाइ छ ।

भैरहवा भन्सार एजेन्ट सङ्घका अध्यक्ष मधु पन्थीले सडक अवरोधका कारण सामान ढुवानीका लागि ट्रक पाउनसमेत कठिन भएको बताउनुभयो । उहाँले लामो दुरीको ढुवानी प्रभावित हुँदा ट्रक अभाव देखिएको बताउनुभयो ।

भोटेकोशी नदीमा आएको बाढी तथा पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा गएको पहिरोपछि काठमाडौँलगायतका क्षेत्रमा हुने मालसामानको ढुवानी प्रभावित हुँदै आएको थियो । पछिल्लो वर्षाले विभिन्न सडकमा थप क्षति पुर्‍याएपछि ढुवानी व्यवस्था थप प्रभावित भएको व्यवसायी बताउँछन् ।

सडक अवस्था क्रमशः सुधार हुँदै गए पनि लामो समयदेखि रोकिएका मालवाहक सवारी एकै पटक गन्तव्यतर्फ पठाउनुपर्ने भएकाले भैरहवा नाकामा तत्कालै चाप सामान्य हुने अवस्था नरहेको भन्सार कार्यालयले जनाएको छ । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्रीलगायतका वस्तुको माग बढ्ने भएकाले ढुवानी सहज बनाउन नाका सञ्चालनको समय थप गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ