alliance khabar

बिहिबार, आश्विन १५, २०८३

रुकुमपश्चिम, असोज १५ गते ।

रुकुमपश्चिममा सम्झौता अवधि सकिनुभन्दा १० महिना अगावै मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–३ र ४ स्थित तिल्चा खोलामा मोटरेबल पुल निर्माण भएको हो।

कर्णाली प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएको यो पुल सम्झौता अवधि नसकिँदै निर्माण सम्पन्न भएको हो। अधिकांश विकास निर्माणका काम ठेक्का सम्झौता भएको अवधिमा सम्पन्न नहुने र पटक–पटक म्याद थप गर्नुपर्ने अवस्था रहेका बेला यो पुल भने निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको हो।

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय चौरजहारीले २०८२ असार २० गते निर्माण व्यवसायी ज्वालामुखी हिमशिखर हिरा जेभीसँग सम्झौता गरेको थियो। २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि पुल करिब १० महिना अगावै निर्माण सम्पन्न भएको हो।

दुई स्पान र प्रिस्टे«स्ड प्रविधिमा निर्माण गरिएको ६३ मिटर लामो पुलका लागि भ्याटसहित आठ करोड २२ लाख ११ हजार ३४८ रुपियाँ २१ पैसामा सम्झौता भएको थियो।

बाँफिकोट गाउँपालिकाको छिनखेत–पिपल–पोखरा हुँदै रुकुमपूर्व जाने सडकखण्डअन्तर्गत बालुवाचौरमा निर्मित पुलको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्काले बुधबार उद्घाटन गर्नुभयो।

नवनिर्मित पुलको उद्घाटन गर्दै मन्त्री खड्काले निर्माण व्यवसायी असल र विकासमैत्री भए समयमै काम सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा तिल्चा खोलामा बनेको पुललाई लिन सकिने बताउनुभयो। कर्णाली प्रदेश सरकारले समयमै काम नगर्ने, विभिन्न बहानामा विकास निर्माणका काममा ढिलाइ गर्ने र आयोजना रुग्ण बनाउने प्रवृत्तिविरुद्ध काम थालेको उहाँले बताउनुभयो।

“काम नगर्ने प्रवृत्ति बढेकाले त्यस्ता ठेकेदारको जमानत जफत गर्नेदेखि ठेक्का रद्द गर्नेसम्मका काममा मन्त्रालय लागेको छ,” उहाँले भन्नुभयो।

सोही कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले स्रोतसाधन हुँदाहुँदै पनि लापरबाही गरेर विकास आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीले यो पुलबाट पाठ सिकेर आफूले जिम्मा लिएका योजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो। विकास निर्माणका काममा ढिलासुस्ती हुँदा सर्वसाधारणले थप दुःख पाउने भएकाले समयमै निर्माण सम्पन्न गर्न सबै पक्ष इमानदार हुनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले वर्षौंदेखि पुलको माग हुँदै आएको तिल्चा खोलामा योजना बनाएर समयमै पुल निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। जनताको माग सम्बोधन गर्न जनप्रतिनिधि लागिपरेको उल्लेख गर्दै उहाँले सबै निर्माण व्यवसायी जिम्मेवारीप्रति इमानदार र विकास निर्माणप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभयो।

बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठाले तिल्चा खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको स्मरण गर्नुभयो। विशेषगरी वर्षायाममा खोलाले मानवीय क्षतिसमेत गर्ने गरेको भन्दै अब सर्वसाधारणलाई आवतजावतमा सहज हुने उहाँले बताउनुभयो।

“यो खोलामा मानिस बेपत्ता हुने, गाईभैँसी बगाउने तथा यातायातका साधनमा क्षति हुने गरेको थियो। अब त्यस्तो समस्या कम हुने विश्वास छ,” उहाँले भन्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ