दाङ, असोज १५ गते ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा एक जना बिरामी २६ दिनदेखि बेवारिसे अवस्थामा उपचाररत हुनुहुन्छ। कोहलपुर घर भएका ४१ वर्षीय प्रकाश चौधरी परिवारजन तथा आफन्तको सम्पर्कमा नआएपछि प्रतिष्ठानले आफ्नै व्यवस्थापनमा उहाँको उपचार गरिरहेको अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले जानकारी दिनुभयो।
उहाँका अनुसार चौधरी विगत २६ दिनदेखि आईसीयूमा उपचाररत हुनुहुन्छ। उपचारका क्रममा हालसम्म अस्पतालतर्फ बेड चार्जसहित इन्भेस्टिगेसनमा ५१ हजार ७५० रुपियाँ र औषधी एक लाख ५५ हजार २४६ रुपियाँ खर्च भएको छ। उहाँको उपचारमा हालसम्म कुल दुई लाख छ हजार ९९६ रुपियाँ खर्च भइसकेको छ।
लामो समयदेखि आईसीयूमा उपचाररत चौधरीका परिवारजन तथा आफन्त हालसम्म अस्पतालको सम्पर्कमा आएका छैनन्। परिवारजनको उपस्थिति नभए पनि अस्पतालले मानवीय दायित्वअन्तर्गत उहाँको उपचारलाई निरन्तरता दिइरहेको डा। रसाइलीले बताउनुभयो। बिरामीको उपचारसँगै आवश्यक हेरचाह तथा व्यवस्थापनको जिम्मेवारीसमेत अस्पतालले निर्वाह गर्दै आएको उहाँले जानकारी दिनुभयो।
यसैगरी, लमहीका ३१ वर्षीय सन्तोष क्षेत्री पनि विगत छ दिनदेखि प्रतिष्ठानको आकस्मिक कक्षमा बेवारिसे अवस्थामा उपचाररत हुनुहुन्छ। उहाँका परिवारजन तथा आफन्त पनि हालसम्म अस्पतालको सम्पर्कमा आएका छैनन्।
क्षेत्रीको उपचारका क्रममा इन्भेस्टिगेसनमा एक हजार २०० रुपियाँ र फार्मेसीतर्फ करिब ६५ हजार रुपियाँ खर्च भएको छ। बेड चार्जसमेत जोड्दा उहाँको उपचारमा हालसम्म करिब ७० हजार रुपियाँ खर्च भएको अस्पताल निर्देशक डा। रसाइलीले जानकारी दिनुभयो।