इलाम, असोज १५ गते ।
पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मेची राजमार्गअन्तर्गत माइखोलास्थित राजदुवाली सडकखण्ड बिहीबार र शुक्रबार बन्द हुने भएको छ।
सो सडकखण्डमा मर्मतको काम भइरहेको र थप मर्मतका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने भएकाले असोज १५ र १६ गते बिहानदेखि बेलुकासम्म सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
सो सडकखण्डमा ठुला मेसिनरी उपकरण प्रयोग गरी कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले कामका क्रममा जोखिम हुने भन्दै सडक डिभिजन कार्यालय इलामको आग्रहमा दुई दिनका लागि राजदुवाली खण्ड बन्द गरिएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौड्यालले बताउनुभयो।
गएको वैशाखदेखि सडक भासिएपछि मर्मत थालिएको उक्त खण्डमा यसअघि ५२ दिन यातायात अवरुद्ध भएको थियो। एक महिनायता साना तथा हलुका सवारी सञ्चालनमा ल्याइए पनि ठुला सवारी सञ्चालनका लागि सडक अझै उपयुक्त नभएको बताइएको छ।
राजदुवाली खण्ड बन्द भएपछि तिल्केनी–सिमल गोलाई वैकल्पिक सडक तथा केचना–कञ्चनजङ्घा सडकबाट सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। तर, तिल्केनी–सिमल गोलाई कच्ची सडकअन्तर्गत जोगमाई खोलामा डाइभर्सनबाट सवारी तार्नुपर्ने अवस्था छ। यस्तै, केचना–कञ्चनजङ्घा सडकको काम समयमा सम्पन्न नहुँदा हिलोका कारण सवारी सञ्चालनमा समस्या भइरहेको छ।