काठमाडौँ, असोज १४ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार वसन्तपुरस्थित कुमारीघर जानुभई जीवित देवी कुमारीको हातबाट टीका प्रसाद ग्रहण गर्नुभएको छ । उहाँले इन्द्रजात्राको अन्तिम दिन मङ्गलबार राति वसन्तपुरस्थित हनुमानढोका दरबारक्षेत्र पुगेर कुमारीबाट टीका प्रसाद ग्रहण गर्नुभएको हो ।
हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभयो ।
टीका प्रसाद ग्रहणपछि कुमारीसँग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले खड्ग साट्नुभयो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबारक्षेत्रमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने इन्द्रजात्रा काठमाडौँ उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो ।
नानिचामा महिलाले रथ तान्ने
ऐतिहासिक महोत्सव बोकेको इन्द्रजात्राको अन्तिम दिन (नानिचाः यायगु) श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथलाई महिलाले तानेका छन् । असोज ७ गतेदेखि सुरु भएको इन्द्रजात्रामा तीन दिन रथ तान्ने गरिन्छ । पहिलो दिन तल्लो टोलमा, दोस्रो दिन माथिल्लो टोलमा र अन्तिम दिन नानिचा भन्दै बिचको टोलमा रथ यात्रा गरिन्छ । नानिचाको दिन नरदेवी, भेडासिंह, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुरमा महिलाले मात्र रथयात्रा तान्ने गरिन्छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले नानिचाको दिन महिलाले मात्र रथयात्रा गराउने जानकारी दिनुभयो । उहाँले यो नेपालको सांस्कृतिक इतिहासकै युगान्तकारी परिवर्तन भएको बताउनुभयो । सामुदायिक रूपमा लामो छलफलपछि मात्र महिलाले रथ तान्ने अवसर पाएको शाक्यले बताउनुभयो ।
कुमारीको रथ तान्ने भित्री सहरका जति पनि टोल छन् त्यहाँ श्रीकुमारीसँगै श्रीगणेश र श्रीभैरवको पनि रथ तानेको अनुभव भएका युवा महिला बाक्लै भेटिन्छन् । ललितपुरको रातो मत्स्येन्द्रनाथको रथ महिलाले प्रत्येक वर्ष एकदिन तान्ने गरे पनि काठमाडौँका देवीदेवताको रथ २०६९ सालयता मात्रै महिलालाई तान्न दिइएको हो । रथ यात्रासँगै मजिपाः लाखे, इन्द्रकी आमा दाँगी, किलागलको पुलुंकिसि, सवः भक्कुलगायत विभिन्न नाच पनि वसन्तपुर क्षेत्रमा देखाइएको छ ।
पहिलो दिन लिङ्गो उठाएपछि जात्रा आरम्भ भएको थियो । आठदिने जात्रा अवधिभर अनुहारमा विभिन्न देवीदेवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका कलाकारले नाच प्रस्तुत गर्छन् ।
किंवदन्ती अनुसार स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आउनुभएको थियो । उहाँ काठमाडौँ उपत्यकाको एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल लिन पस्नुभयो । बगैँचामा चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए । छोरो काठमाडौँमा बाँधिएको थाहा पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उहाँलाई फर्काएर लग्नुभयो । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको भनाइ छ । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रहँदै आएको छ ।