alliance khabar

बुधबार, आश्विन १४, २०८३

काठमाडौँ, असोज १४ गते  ।

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार वसन्तपुरस्थित कुमारीघर जानुभई जीवित देवी कुमारीको हातबाट टीका प्रसाद ग्रहण गर्नुभएको छ । उहाँले इन्द्रजात्राको अन्तिम दिन मङ्गलबार राति वसन्तपुरस्थित हनुमानढोका दरबारक्षेत्र पुगेर कुमारीबाट टीका प्रसाद ग्रहण गर्नुभएको हो ।

हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका  प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभयो ।

टीका प्रसाद ग्रहणपछि  कुमारीसँग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले खड्ग साट्नुभयो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबारक्षेत्रमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने इन्द्रजात्रा काठमाडौँ उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो ।

नानिचामा महिलाले रथ तान्ने 

ऐतिहासिक महोत्सव बोकेको इन्द्रजात्राको अन्तिम दिन (नानिचाः यायगु) श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथलाई महिलाले तानेका छन् । असोज ७ गतेदेखि सुरु भएको इन्द्रजात्रामा तीन दिन रथ तान्ने गरिन्छ । पहिलो दिन तल्लो टोलमा, दोस्रो दिन माथिल्लो टोलमा र अन्तिम दिन नानिचा भन्दै बिचको टोलमा रथ यात्रा गरिन्छ । नानिचाको दिन नरदेवी, भेडासिंह, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुरमा महिलाले मात्र रथयात्रा तान्ने गरिन्छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले नानिचाको दिन महिलाले मात्र रथयात्रा गराउने जानकारी दिनुभयो । उहाँले यो नेपालको सांस्कृतिक इतिहासकै युगान्तकारी परिवर्तन भएको बताउनुभयो । सामुदायिक रूपमा लामो छलफलपछि मात्र महिलाले रथ तान्ने अवसर पाएको शाक्यले बताउनुभयो ।

कुमारीको रथ तान्ने भित्री सहरका जति पनि टोल छन् त्यहाँ श्रीकुमारीसँगै श्रीगणेश र श्रीभैरवको पनि रथ तानेको अनुभव भएका युवा महिला बाक्लै भेटिन्छन् । ललितपुरको रातो मत्स्येन्द्रनाथको रथ महिलाले प्रत्येक वर्ष एकदिन तान्ने गरे पनि काठमाडौँका देवीदेवताको रथ २०६९ सालयता मात्रै महिलालाई तान्न दिइएको हो । रथ यात्रासँगै मजिपाः लाखे, इन्द्रकी आमा दाँगी, किलागलको पुलुंकिसि, सवः भक्कुलगायत विभिन्न नाच पनि वसन्तपुर क्षेत्रमा देखाइएको छ ।

पहिलो दिन लिङ्गो उठाएपछि जात्रा आरम्भ भएको थियो । आठदिने जात्रा अवधिभर अनुहारमा विभिन्न देवीदेवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका कलाकारले नाच प्रस्तुत गर्छन् ।

किंवदन्ती अनुसार स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आउनुभएको थियो । उहाँ काठमाडौँ उपत्यकाको एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल लिन पस्नुभयो । बगैँचामा चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए । छोरो काठमाडौँमा बाँधिएको थाहा पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उहाँलाई फर्काएर लग्नुभयो । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको भनाइ छ । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ