हुम्ला, असोज १४ गते ।
हुम्ला जिल्लाभित्र पर्ने कर्णाली करिडोर र सबै ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । तीन दिनसम्म लगातार परेको वर्षाका कारण पहिरो र ढुङ्गा खसेपछि जिल्लाभरका सडक अवरुद्ध भएका हुन् ।
वर्षाका क्रममा स्थानीय प्रशासनले सम्भावित क्षतिबाट जोगाउन जिल्लाभर यातायात सेवा सञ्चालनमा रोक लगाए पनि वर्षाका कारण हुम्ला जिल्लाभित्र पर्ने कर्णाली करिडोर र सातवटै गाउँपालिकाका विभिन्न बस्ती तथा वडा जोड्ने ग्रामीण सडक बुधबार बिहानसम्म पूर्ण रूपमा बन्द रहेको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।
उहाँका अनुसार हुम्लामा पर्ने कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्मको खण्डमा ४० भन्दा बढी स्थानमा पहिरो खसेको छ भने कतिपय ठाउँमा ठूला ढुङ्गा खसेका कारण सडक अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो पन्छाएर यातायात सुचारु गर्न हिल्सा–सिमकोट सडक योजना, सिमकोट र कर्णाली करिडोरको दक्षिणी खण्ड हेर्ने बाजुराको कोल्टी कार्यालयसँग समन्वय भइरहेको र मर्मत कार्य पनि सुरु भएको उहाँले बताउनुभयो ।
पहिरो र ढुङ्गा पन्छाउन दुईदेखि तीन दिन लाग्ने भएकाले उक्त अवधिमा जिल्लाको यातायात सेवा पूर्ण रूपमा बन्द रहने अवस्था रहेको उहाँको भनाइ छ । कर्णाली करिडोर मात्र नभई सातवटै गाउँपालिकाका वडा केन्द्र तथा विभिन्न गाउँबस्ती जोड्ने ग्रामीण सडकमा समेत पहिरो खसेका कारण यातायात सेवा पूर्ण रूपमा बन्द रहेको उहाँले बताउनुभयो । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सातवटै गाउँपालिकासँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
कर्णाली करिडोर र ग्रामीण सडक पूर्ण रूपमा बन्द रहेकाले आइतबारदेखि जिल्लामा कमान्ड पोस्टको बैठक नियमित रूपमा बसेर अवरुद्ध सडक सञ्चालन गर्ने विषयमा छलफल तथा सम्बन्धित निकायसँग समन्वयको काम भइरहेको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताउनुभयो ।
ग्रामीण सडकका ७० भन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । ग्रामीण सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कम्तीमा दुई दिन लाग्ने बताउँदै उहाँले सबै गाउँपालिकालाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–५ को नारा लेकको सडक र वडा नं। ६ को हिमालपारिको गाउँ लिमी जाने न्यालु लेकको सडकमा साढे तीन फिट हिउँ जमेकाले ती सडक पनि बन्द रहेका छन् । हिउँ नपन्छाएसम्म दुवै सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
२०४५ सालपछिकै सबैभन्दा ठुलो वर्षा यसपटक भएको स्थानीय प्रशासनले जनाएको छ । गत शुक्रबारदेखि लगातार करिब ५० घण्टासम्म हुम्ला जिल्लाभर वर्षा भएपछि सडकको यस्तो अवस्था आएको हो ।