हेटौँडा, असोज १४ गते ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास निर्माणका योजनामा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट प्रयोग गर्ने भएको छ । गाउँपालिकाले हेटौँडा–९ स्थित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडसँग मंगलबार सम्झौता गर्दै ५० किलोका ५० हजार ६२८ बोरा ओपिसी सिमेन्ट खरिद गर्ने भएको हो । सम्झौताअनुसार गाउँपालिकाले उद्योगलाई तीन करोड ४६ लाख रुपियाँ भुक्तानी गर्नेछ ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलान र हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । गाउँपालिका खरिदकर्ता र हेटौँडा सिमेन्ट उद्योग आपूर्तिकर्ता रहने गरी दुई सरकारी संस्थाबिच जिटुजी (सरकार–सरकार) प्रक्रियामार्फत सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । सम्झौता २०८४ जेठ मसान्तसम्म कायम रहनेछ ।
आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रमा सञ्चालन हुने विभिन्न विकास निर्माणका योजनाका लागि आवश्यक ओपिसी सिमेन्ट खरिद तथा आपूर्ति गर्न प्रचलित कानुन, गाउँ कार्यपालिकाको निर्णय तथा स्वीकृत नीति, बजेट र कार्यक्रमअनुसार सम्झौता गरिएको अध्यक्ष घलानले जानकारी दिनुभयो ।
सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी प्रचलित कानुनअनुसार सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिनुभयो । विकास निर्माणमा सरकारी स्वामित्वको उद्योगको उत्पादन प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता गरिएको उहाँले बताउनुभयो ।
पालिका अध्यक्ष घलानले सरकारी निकायका विकास निर्माणमा हेटौँडा सिमेन्टको प्रयोगलाई सङ्घीय सरकारले समेत प्रोत्साहन तथा अनिवार्य गर्ने व्यवस्था गरे सरकारी स्वामित्वका उद्योगको उत्पादनको प्रयोग बढ्ने बताउनुभयो । स्थानीय तहले स्वदेशी उत्पादनको प्रयोग र सरकारी उद्योगलाई सहयोग गर्ने उद्देश्यले यस्तो सुरुवात गरेको उहाँको भनाइ छ ।
हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका निमित्त महाप्रबन्धक श्रेष्ठले स्थानीय तहले सम्झौता गरेर हेटौँडा सिमेन्ट खरिद गरेको यो पहिलोपटक भएको बताउनुभयो । उहाँका अनुसार उद्योगसँग हाल ६० हजार बोरा सिमेन्ट मौज्दात छ । उहाँले गाउँपालिकाको निर्णयलाई सकारात्मक रूपमा लिएको बताउनुभयो ।
हेटौँडाको लामसुरेमा विसं २०३३ मा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो ।
सम्झौता कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, गाउँपालिका अध्यक्ष घलान, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता कमानसिं प्राखिन, गाउँपालिकाका कर्मचारी तथा हेटौँडा सिमेन्ट उद्योगका प्रतिनिधिको सहभागिता थियो ।
बागमती गाउँपालिकाले विकास निर्माणका लागि आफ्नै लगानीमा क्रसर उद्योग सञ्चालन गर्नुका साथै आवश्यक उपकरण खरिद गरेको छ । गाउँपालिकाले आफ्ना कार्यका लागि आवश्यक इन्धनको व्यवस्थासमेत पालिकामै गरेको जनाएको छ ।