alliance khabar

सोमबार, आश्विन १२, २०८३

काठमाडौँ, असोज १२ गते ।

चाडपर्वहरू दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा  दैनिक उपभोग्य खाद्यवस्तुको माग बढे पनि सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आवश्यक खाद्यवस्तुको मौज्दात पर्याप्त रहेको जनाएको छ ।

चाडपर्वमा उपभोक्ताको माग बढ्ने अवस्थालाई ध्यानमा राखी दुवै संस्थाले बिक्री केन्द्रमा रहेको मौज्दात परिचालन गरी आपूर्ति व्यवस्थापन गरिरहेका छन् ।

मौज्दात व्यवस्थापनमा जोड

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार अहिले सहुलियत पसलमा चामल, चिनी र खाने तेलको माग बढी छ । अघिल्लो वर्षको तुलनामा चिनीको माग केही बढेको भए पनि अन्य खाद्य वस्तुको माग सामान्य अवस्थामै रहेको उहाँले बताउनुभयो ।

चाडपर्वका कारण माग थप बढे पनि कम्पनीसँग रहेको मौज्दात पर्याप्त रहेकाले तत्काल आपूर्ति समस्या नहुने उहाँको भनाइ छ । कुनै बिक्री केन्द्रमा माग बढेमा उपलब्ध मौज्दातलाई आवश्यकताअनुसार परिचालन गरी आपूर्ति व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

सहुलियत पसल वर्षभरि सञ्चालन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत बिक्रीलाई केवल दसैँ, तिहार र छठमा सीमित नगरी वर्षभरि सञ्चालन गर्ने व्यवस्था अघि बढाएको छ । कम्पनीले यही आर्थिक वर्षबाट ४४ जिल्लाका १९३ स्थानबाट दैनिक उपभोग्य खाद्यवस्तु बिक्री गरिरहेको छ । यसअन्तर्गत चामल, दाल, खानेतेल, चिनी, नुन तथा रैथाने खाद्यवस्तु बिक्री भइरहेका छन् ।

कम्पनीका अनुसार चामल, दाल, तेल तथा रैथाने बाली लगायतका वस्तुमा प्रतिकिलो पाँच रुपियाँसम्म छुट दिइएको छ । सहुलियत मूल्यमा वस्तु उपलब्ध गराउने व्यवस्थालाई नियमित बनाउँदै जिल्लागत मागका आधारमा बिक्री केन्द्रमा खाद्यवस्तु उपलब्ध गराउने तयारी गरिएको सूचना अधिकारी मिश्रले बताउनुभयो ।

मागअनुसार खाद्यान्न 

खाद्य कम्पनीले सबै बिक्री केन्द्रमा एउटै परिमाणमा खाद्यवस्तु पठाउनेभन्दा पनि स्थानीय आवश्यकता र मागलाई आधार बनाएको जनाएको छ । बिक्री केन्द्रमा रहेको मौज्दात, उपभोक्ताको माग र घरायसी प्रयोजनलाई ध्यानमा राखेर खाद्यवस्तु वितरण गर्ने व्यवस्था गरिएको छ ।

कम्पनीका सूचना अधिकारी मिश्रकाअनुसार उपभोक्ताले घरायसी प्रयोजनका लागि आवश्यक खाद्यवस्तु सहज रूपमा पाउन् भन्ने उद्देश्यले जिल्लागत रूपमा बिक्री व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको मिश्रले जानकारी दिनु भएको छ । यसले बढी माग हुने स्थानमा मौज्दात परिचालन गर्न र कम माग हुने स्थानमा अनावश्यक रूपमा खाद्यवस्तु थुप्रिन नदिन सहयोग पुग्ने मिश्रको भनाइ छ ।

चिनी–तेलको बढ्यो माग  

साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्ज्वल प्रधानका अनुसार चाडपर्व लक्षित सहुलियत पसलमा चिनी र खाने तेलको माग बढी छ । चाडपर्वको समयमा हरेक वर्ष चिनी, तेललगायत दैनिक उपभोग्य वस्तुको माग बढ्ने गरेको र यस वर्ष पनि बिक्री केन्द्रमा उपभोक्ताको चाप बढेको उहाँले बताउनुभयो ।

साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा १३ र उपत्यकाबाहिर २५ गरी ३८ वटा स्थायी बिक्री केन्द्र तथा तीनवटा घुम्ती भ्यानमार्फत सहुलियत मूल्यमा वस्तु बिक्री गरिरहेको प्रधानले बताउनुभयो ।

चिनी, तेल खाद्यन्नमा छुट

साल्ट ट्रेडिङका बिक्री केन्द्रमा चिनी प्रतिकिलो पाँच रुपियाँ छुटसहित एकसय रुपियाँमा बिक्री भइरहेको छ । नुनमा प्रतिकिलो दुई रुपियाँ छुट दिइ २४ रुपियाँमा बिक्री भइरहेको छ ।

त्यस्तै, खानेतेल, दाल, चिउरा, आँटा तथा मैदामा प्रतिकिलो वा प्रतिलिटर सात रुपियाँसम्म छुट दिइएको छ । चामलमा प्रतिबोरा २० रुपियाँ तथा चियापत्ती र मसलाजन्य वस्तुमा पाँचदेखि १० रुपियाँसम्म छुटको व्यवस्था गरिएको बजार प्रबन्धक प्रधानले जानकारी दिनुभयो ।

चाडपर्वका बेला बजारमा चिनीको माग र मूल्य दुवै बढ्ने अवस्थालाई ध्यानमा राखेर सरकारले यसअघि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार छुटमा आयात गर्न स्वीकृति दिएको थियो ।

दुर्गममा पनि सहुलियत पसल 

साल्ट ट्रेडिङले उपत्यका बाहिर पनि विभिन्न जिल्लाका बिक्री केन्द्रबाट सहुलियत मूल्यमा खाद्यवस्तु उपलब्ध गराइरहेको छ । बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, नारायणगढ, पोखरा, बागलुङ, भैरहवा, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी, टीकापुर, अत्तरिया, दिपायल, डडेलधुरा, बैतडी, महेन्द्रनगर र कृष्णनगर लगायत स्थानमा बिक्री केन्द्र सञ्चालनमा छन् ।

कर्पोरेसनले दुर्गम क्षेत्रमा पनि चाडपर्वका लागि आवश्यक वस्तु उपलब्ध गराएको जनाएको छ । डडेलधुरा, दिपायल र बैतडीजस्ता सुदूरपश्चिमका बजारमा समेत सहुलियत मूल्यमा खाद्यवस्तु बिक्री भइरहेको छ । माग भएका स्थानमा तीनवटा घुम्ती भ्यानमार्फत बिक्री गर्ने व्यवस्था पनि गरिएको बजार प्रबन्धक प्रधानले बताउनुभयो ।

मौज्दातबाट आपूर्ति निरन्तर

बाढीपहिरो तथा सडक अवरोधका कारण केही क्षेत्रमा नियमित ढुवानी प्रभावित भए पनि तत्काल खाद्य वस्तुको आपूर्तिमा समस्या नरहेको दुवै संस्थाले जनाएका छन् । हवाइ मार्गको प्रयोग नगरी सडकमार्गबाटै खाद्यवस्तु ढुवानी गर्दैआएको खाद्य कम्पनीका सूचना अधिकारी मिश्रले बताउनुभयो ।

साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रधानका अनुसार सडक अवरोधका बाबजुद बिक्री केन्द्रमा रहेको मौज्दातबाट वितरण भइरहेको छ । खाना पकाउने ग्यासको आपूर्तिसमेत नियमित रहेको र सडक अवरोधका कारण आपूर्ति पूर्ण रूपमा रोकिएको अवस्था नरहेको उहाँले बताउनुभयो ।

बजार अनुगमन 

चाडपर्वमा माग बढ्ने र मूल्यमा दबाब पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले बजार अनुगमनलाई पनि तीव्र बनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार काठमाडौँ उपत्यकामा दैनिक १० देखि ११ वटा अनुगमन टोली परिचालन गरी करिब ४० वटा पसल तथा व्यावसायिक फर्ममा अनुगमन भइरहेको छ ।

चालु आर्थिक वर्षमा हालसम्म करिब ७५० पसल तथा फर्मको अनुगमन गर्दा ९ व्यवसायीलाई कारबाही गरी ३५ लाख २१ हजार रुपियाँ जरिवाना गरिएको किरातीले जानकारी दिनुभयो ।

सहुलियत पसलबाट छुट मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने र खुला बजारमा मूल्य तथा आपूर्तिको अवस्थाको अनुगमन गर्ने दुवै कामलाई सरकारले सँगसँगै अघि बढाएको किरातीले जनाकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ