शारदा (सल्यान), असोज १२ गते ।
सल्यानका विभिन्न पालिकामा फैलिएको स्क्रब टाइफस रोगबाट ३५५ जना संक्रमित भएका छन्। विशेषगरी दार्मा गाउँपालिकामा आक्रामक रूपमा फैलिएको यस रोगबाट जिल्लाका छ पालिकाका नागरिक संक्रमित भएका छन्। स्क्रब टाइफसकै जटिलताका कारण दार्मा गाउँपालिकाका आठ जनाले ज्यान गुमाएका छन्।
संक्रमणको जानकारी पाएलगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य समूह परिचालन गरेको थियो। कार्यालयका अनुसार हालसम्म सरकारी स्वास्थ्य संस्थामा एक हजार ७०९ जनाको स्क्रब टाइफस परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो। यसअनुसार सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामीमा संक्रमण दर १५.७४ प्रतिशत रहेको छ।
निजी क्षेत्रका स्वास्थ्य संस्थामध्ये बागचौर नगरपालिकामा मात्रै परीक्षणको तथ्याङ्क संकलन भएको छ। बागचौरस्थित निजी स्वास्थ्य संस्थामा ३३१ जनाको परीक्षण गर्दा ८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।
तथ्याङ्कअनुसार पुरुषको तुलनामा महिलामा स्क्रब टाइफसको संक्रमण अत्यधिक देखिएको छ। सरकारी तथा निजी स्वास्थ्य संस्थाको तथ्याङ्कअनुसार संक्रमित ३५५ जनामध्ये २४४ जना अर्थात् ६८.७३ प्रतिशत महिला र १११ जना अर्थात् ३१.२७ प्रतिशत पुरुष रहेका छन्। महिलाहरू घाँस, दाउरा, कृषि कार्य र पशुपालनमा बढी प्रत्यक्ष रूपमा जोडिने भएकाले उनीहरू यस रोगको उच्च जोखिममा परेको अनुमान गर्न सकिन्छ।
जिल्लाका स्थानीय तहमध्ये दार्मा गाउँपालिका सबैभन्दा बढी प्रभावित र संवेदनशील बनेको छ। त्यसपछि बागचौर नगरपालिका, कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा पनि संक्रमित भेटिएका छन्। यस्तै, जिल्लाको छत्रेश्वरी गाउँपालिकामा पनि स्क्रब टाइफसको संक्रमण भेटिएको विवरण सम्बन्धित पालिकाको स्वास्थ्य संस्थाले बताए पनि जिल्ला स्वास्थ्य कार्यालयले त्यसबारे यकिन जानकारी प्राप्त गर्न नसकेको जनाएको छ। कपुरकोट र त्रिवेणी गाउँपालिकासँग पनि सम्पर्क हुन नसकेको जनाउँदै स्वास्थ्य सेवा कार्यालयले हालसम्म अन्य पालिकामा संक्रमित नभएको जनाएको छ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. प्रतिभा विकले प्रमाणित गर्नुभएको विवरणअनुसार दार्मामा ५३२ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाभर भएका आठ जनाकै मृत्यु दार्मा गाउँपालिकामा भएको छ। मृत्यु हुनेमा एक जना महिला र सात जना पुरुष रहेका छन्।
यस्तै, बागचौर नगरपालिकामा सरकारी र निजी स्वास्थ्य संस्थाको तथ्याङ्कअनुसार १६४ जना र कुमाख गाउँपालिकामा २२ जनामा संक्रमण देखिएको छ। बनगाड कुपिण्डे नगरपालिकामा परीक्षण गरिएका सातै जनामा संक्रमण पुष्टि भएको छ भने कालिमाटीमा दुई जनामा संक्रमण पाइएको छ। सिद्धकुमाख र शारदा नगरपालिकामा भने संक्रमण नदेखिएको रिपोर्ट छ।