काठमाडौँ, असोज १२ गते ।
गृहमन्त्री सुधन गुरुङसँग चलचित्र ‘टनेल–२६’ का भुटानी कलाकार तथा निर्माण टोलीले भेटेका छन् । नेपाल, भुटान र भारतको संयुक्त लगानीमा निर्माण भएको चलचित्र असोज २३ गते नेपाल र भुटानमा प्रदर्शन हुने छ ।
गृहमन्त्री गुरुङले ‘टनेल–२६’ टोलीलाई सफलताको शुभकामना दिनुभयो । उहाँले चलचित्रले नेपाल, भुटान र भारतबिचको बलियो सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण परियोजनाका रूपमा उल्लेख गर्नुभयो । गृहमन्त्री गुरुङले चलचित्रको विषयवस्तुलाई पछिल्लो समय सुरुङभित्र मानिस फसेको घटनासँग जोड्दै कठिन परिस्थितिमा फसेका मानिसले भोगेको सङ्घर्ष र बाँच्नका लागि गरेको प्रयासले यस्ता कथाको महत्वलाई थप उजागर गर्ने बताउनुभयो ।
उहाँले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसले भोग्दै आएको पीडाका विषयमा पनि धारणा राख्नुभयो । विश्वका शक्तिशाली राष्ट्रको बेवास्ता, कमजोर पूर्वाधार विकास, भ्रष्टाचार तथा नैतिकता र जिम्मेवारीको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रका नागरिकले विभिन्न समस्या भोग्नु परेको उहाँको भनाइ छ ।
आम्दानी विपत् कोषमा
चलचित्रको आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री विपत् कोषलाई प्रदान गरिने फिल्मका निर्माता तथा मुख्य कलाकार साङ्गे सेल्ट्रिमले जानकारी दिनुभयो । भुटानी कलाकार साङ्गेले चलचित्रको नाफा रकम नभई ग्रस आम्दानीको २५ प्रतिशत प्रदान गरिने स्पष्टसमेत पार्नुभयो । “नेपालमा पछिल्लो समय विनाशकारी बाढी आउँदा भुटान पनि रोएको छ,” साङ्गेले भन्नुभयो, “हामीलाई पनि उत्तिकै दुःखेको छ । यसअघि भुटानका राजाले पनि सहयोग गरिसक्नुभएको छ, मेरो व्यक्तिगत र हाम्रो चलचित्र ‘टनेल–२६’ को तर्फबाट पनि यो सहयोग गर्न चाहन्छु ।”
‘टनेल–२६’ मा नेपालका तर्फबाट अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीले निर्माणमा सहकार्य गर्नुभएको छ । ‘टनेल–२६’ लाई साङ्गे फिल्म्स् र पिक एक्सभीले प्रस्तुत गरेका हुन् । चलचित्रमा अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका रहेको छ । यस्तै निदुप दोर्जी, डेकी लामो, फुन्टसोक धोन्डेन, रोशनी दाहाललगायतका कलाकारको अभिनय रहेको छ ।