नवलपुर, असोज १२ गते ।
बाढीले बगाएर ल्याएको राइनो क्रुज जहाज पुलमुनि अड्किएपछि बन्द गरिएको नारायणी पुलमा सवारीसाधनको आवागमन खुला गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा रातिको समयमा साना तथा अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न दिइए पनि ठुला तथा मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो।
अहिले भने अवस्था हेरेर पुलमा सबै प्रकारका सवारीसाधनलाई वारपार गर्न दिइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो।
बाढीले बगाएर ल्याएको क्रुज पुलमुनि अड्किएपछि सुरक्षाका कारण पुलमा सवारी आवागमन बन्द गरिएको थियो। क्रुज भने अहिले पनि पुलको पिलरमै अड्किएको छ।
बिहानैदेखि क्रेनको सहायताले पानीको बहाव हेरेर सकेसम्म क्रुजलाई किनारा लगाउने र नभए बगाउने प्रयास गरिने प्रहरी निरीक्षक गिरीले बताउनुभयो।