काठमाडौँ, असोज ७ गते ।
इन्द्रजात्रा (येँया) बुधबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको मानिन्छ ।
आठ दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ । विशेषगरी आजको दिनलाई ‘उपाकु’ भनिन्छ ।
आज साँझ नेवार समुदायले मृतकको सम्झनामा बत्ती (पाल्चाः) बाल्दै नगर परिक्रमा गर्ने परम्परा पनि रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा इन्द्रध्वजा (यःसिं) ढालेपछि जात्रा समापन भएको मानिन्छ ।



















