काठमाडौँ, असोज ७ गते ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।
भोटेकोशी बाढीले एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षतिसमेत भएको छ । घटनापछि सरकारका तर्फबाट ऊर्जा मन्त्रालयले गरेका काम तथा अबको कार्ययोजनाबारे मन्त्री श्रेष्ठले प्रतिनिधिसभालाई जानकारी दिने उहाँका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले बताउनुभयो ।
उहाँका अनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समय लिइसक्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।