alliance khabar

शुक्रबार, आश्विन ०२, २०८३

मुक्तिनाथ (मुस्ताङ), असोज २ गते ।

विनाशकारी भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीको असर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थयात्रुको आगमनमा परेको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढी र कृष्णभीरको पहिरोका कारण मुक्तिनाथमा तीर्थयात्रुको आगमन ह्वात्तै घटेको हो। बेनी–जोमसोम सडकखण्ड तथा हवाई मार्ग हुँदै आउने भारतीय तीर्थयात्रुसहित नेपाली तीर्थयात्रुको चाप पनि घटेको मन्दिर व्यवस्थापन समितिका कर्मचारी दिनेश भुसालले बताउनुभयो।

भुसालले भन्नुभयो, “बाढी आउनुअघि दैनिक आउने तीर्थयात्रुको सङ्ख्या ७० प्रतिशतभन्दा बढीले घटेको छ। विस्तारै लयमा फर्किंदैछ।”

कर्मचारी भुसालका अनुसार मन्दिरमा साउन महिनामा दैनिक एक हजार ५०० भन्दा बढी तीर्थयात्रु आउने गरेकामा अहिले दैनिक ३०० को हाराहारीमा आउने गरेका छन्। भदौ महिनामा मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’मा सहभागी हुन आएका व्यक्तिमार्फत सकारात्मक सन्देश प्रवाह भएकाले अब तीर्थयात्रुको आगमन लयमा फर्किने भुसालको भनाइ छ।

अहिले मन्दिरमा दर्शनका लागि बिहान तथा सन्ध्याकालीन आरतीमा आउने अधिकांश नेपाली हिन्दू धर्मावलम्बी हुने गरेका छन्। मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ।

मन्दिरमा रहेका १०८ धारा र कुण्डमा स्नान गर्ने तीर्थयात्रुको थामिनसक्नु भीड हुने गरेकामा भदौमा सङ्ख्या न्यून भए पनि यस महिना अत्यधिक हुने समितिको अनुमान छ।

संसारको जुनसुकै स्थानमा भए पनि एकपटक मुक्तिनाथको दर्शन गरी त्यहाँका १०८ धारा र जलकुण्डमा स्नान गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेको छ। मन्दिर क्षेत्रमा लेक लाग्ने समस्या भएमा तत्काल उपचारको सुविधासमेत रहेको छ।

भक्तजनलाई सहज रूपमा स्नान गर्न सुविधा होस् भनेर संकलित भेटीबाट धारा र कुण्ड क्षेत्रमा तीन हजार १४० वर्गफिट ढुङ्गा बिछ्याइएको छ। अन्य पूर्वाधार निर्माणले पनि भक्तजनलाई सहज भएको तीर्थयात्रुले बताएका छन्।

हिन्दू धर्मग्रन्थअनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरूप यज्ञ गरेको इतिहास रहेको छ। बौद्ध धर्मावलम्बीका अनुसार तिब्बतबाट बौद्धमार्गी पण्डित कैलाश पर्वतको दर्शन गर्न गएको र कैलाशको जल ल्याएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको विश्वास छ।

समुद्र सतहदेखि तीन हजार ६१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर मुक्ति क्षेत्रका रूपमा चिनिन्छ। कागखोला र कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा स्नान गरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने गरिन्छ।

मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तीर्थयात्रुले दर्शन गर्ने गरेका छन्। वार्षिक ८ लाखभन्दा बढीले मन्दिरको दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ