काठमाडौँ, भदौ २० गते ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति चार प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लाग्नुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सोमबार पनि देशभर साधारणतया बादल लाग्ने तथा हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ । सो दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, शनिबार रातिदेखि सोमबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन जिल्ला लगायत आसपासका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ । यी बाढी प्रभावित क्षेत्रको एक, दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।