बागलुङ, भदौ १८ गते ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट सिर्जित महाविपत्तिले झस्काएपछि कालीगण्डकी नदीको सम्भावित जोखिमबारे बहस सुरु भएको छ।
धौलागिरि हिमाल आसपासका कतिपय हिमतालमा पनि जोखिम हुनसक्ने तर्कसहित सचेतनाका विषय उठ्न थालेका छन्। कालीगण्डकी नदीको स्रोत हिमताल र हिमाल भएकाले सम्भावित जोखिमको अध्ययन गरी पूर्वतयारीका विषयमा सरोकारवालाबीच बहस सुरु भएको हो।
बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति बागलुङको बैठकमा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाले कालीगण्डकी नदीको सम्भावित जोखिम न्यूनीकरणका लागि अध्ययन गर्नुपर्नेमा जोड दिएका हुन्।
छलफलपछि विपद् व्यवस्थापन समितिले कालीगण्डकी नदी किनारको जोखिम न्यूनीकरणका लागि अध्ययनको अगुवाइ गर्ने भएको छ। पूर्वाधार विकास तथा एकीकृत सेवा कार्यालयमार्फत प्राविधिक र अन्य जनशक्ति परिचालन गरेर कामको सुरुवात गरिने विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो।
विपद् जोखिमको आकलन गरिसकेपछि कतिपय स्थानमा बस्ती स्थानान्तरण गर्न सुझाव दिन सकिने तथा कतिपय स्थानमा सुरक्षित उपायको खोजी गर्न सहज हुने भएकाले कालीगण्डकी नदीको जोखिमबारे अध्ययनको पहल थालिएको हो।
‘‘भोटेकोशीमा जस्तै कालीगण्डकी नदीमा बाढी आएमा कति घरमा क्षति पुग्न सक्छ ? त्यसबाट कसरी मानवीय क्षति रोक्न सकिन्छ जस्ता विषयमा अध्ययन गर्न आवश्यक छ,’’ आचार्यले भन्नुभयो, ‘‘कालीगण्डकीमा पटक–पटक बाढी आएको घटनाले अध्ययन आवश्यक देखिन्छ। सर्वसाधारणले पनि जोखिमबारे पूर्वतयारी गर्नुपर्छ।’’
समितिको बैठकमा उपस्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकाय, सरोकारवाला सरकारी कार्यालय, गैरसरकारी संस्था, रेडक्रस सोसाइटीलगायतलाई जोखिमसम्बन्धी तथ्याङ्क आवश्यक रहेकाले प्रशासनले त्यसलाई एकीकृत गरेर राख्ने पनि आचार्यले बताउनुभयो।
त्यसबाहेक बागलुङ जिल्लाभित्रका विभिन्न स्थानमा रहेका जोखिम, यसअघि भएका बाढीपहिरोका घटनाका पीडितको अवस्था बुझ्ने र उनीहरूको तथ्याङ्क सङ्कलन गर्ने विषय बैठकमा उठेको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले जानकारी दिनुभयो।
विशेषगरी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा बाढीपहिरो प्रभावित धेरै रहेको सरकारी तथ्याङ्क छ। उनीहरूबाहेक मनसुनजन्य विपद्बाट अझै समस्या आइरहने भएकाले सचेत रहनुपर्ने तथा भोटेकोशीमा बेपत्ता भएकाहरूका परिवारलाई कस्तो राहत दिने भन्ने विषयमा समितिले काम थालेको प्रजिअ आचार्यले बताउनुभयो।
भोटेकोशी बाढीबाट पीडितका लागि बागलुङबाट नगद रकम मात्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ। जिन्सी सामग्री सङ्कलन भएको अवस्थामा पनि सडकको समस्याका कारण पठाउन कठिन हुने भएकाले जिल्लाभित्रकै विपद् प्रभावितका लागि राहत जोहो गर्न पहल गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो।