काठमाडौँ, भदौ १७ गते ।
जापानबाट पहिलो चरणको राहत सामग्री आज आइपुगेको छ । जापान सरकारले नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्मा ऐक्यबद्धता जनाउँदै उक्त राहत सामग्री नेपाल पठाएको हो ।
उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा हस्तान्तरण गर्नुभयो ।
जापानका जनता तथा सरकारका तर्फबाट आएको आपतकालीन राहत सामग्रीमा हिमबाढी प्रभावित समुदायका लागि कम्बल, प्लास्टिकका पाता (सिट), सुत्ने म्याट पाल र बोक्न मिल्ने पानीका जार लगायत दैनिक उपभोग्य सामग्री समावेश रहेका छन् ।
हिजोमात्र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाए ताकाइचीबीच भएको उच्चस्तरीय टेलिफोन वार्ता भएको थियो । जसमा जापान नेपालको साथमा रहेको र यस कठिन परिस्थितिको सामना गर्न आफ्नो क्षमताले भ्याएसम्म सबै सहयोग गर्ने प्रतिबद्धता जापानका प्रधानमन्त्री सानाएले व्यक्त गर्नुभएको थियो ।
जापान सरकारले आज पठाएको आपतकालीन राहत सामग्रीहरूले विपत्बाट प्रभावितहरूले भोगिरहेको कठिनाइ कम गर्न मद्दत पु¥याउने अपेक्षा राखेको जनाएको छ ।
साथै, प्रभावित क्षेत्रहरूमा पुर्नस्थापना र पुर्ननिर्माणका प्रयासहरू निरन्तर अघि बढ्ने र प्रभावित नागरिकले आफ्नो सामान्य तथा शान्तिपूर्ण जीवन छिटो फेरी सुरु गर्न सक्ने विश्वास पनि जापान सरकारले व्यक्त गरेको छ ।