काठमाडौं , भदौ १७ गते।
रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर बुढानीलकण्ठ नगरपालिकाको टोली रसुवा प्रस्थान गरेको छ ।
नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरिएका राहत सामग्री बोकेका तीनवटा गाडी बुधबार वडा नं. ३ का अध्यक्ष आकाश धिताल र सदस्य विकास तामाङको नेतृत्वमा रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेकाे हाे ।
बाढी प्रभावितका लागि संकलन गरिएको राहत सामग्रीमा चामल, दाल, सिरक, डसना, सिरानी, सोलार चार्जर, लत्ताकपडालगायत दैनिक जीवनमा आवश्यक सामग्री हरु रहेका छन् ।
राहत सामग्री गोसाइँकुण्ड गाउँपालिकाका जनप्रतिनिधिलाई हस्तान्तरण गरिने बुढानीलकण्ठ नगरपालिकाले जनाएको छ। हस्तान्तरणपछि उक्त सामग्री बाढी तथा विपद्वाट प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिनेछ ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाका वडा कार्यालय र स्थानीय समुदायको सहकार्यमा राहत सामग्री संकलन गरिएको हो ।

