काठमाडौं , भदौ १७ गते।
रसुवा भोटेकोशी बाढीपीडितको उद्धार राहत तथा पुनःस्थापनाका लागि नेपाल इम्ब्रोइडरी, हेन्डिक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघले रु १७ हजार सहयोग गरेको छ।
संघकी कार्यवाहक अध्यक्ष सीता कार्की ले बुधबार नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरलाई ट्रेड युनियन कांग्रेसको कार्यालयमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संघले उक्त रकम प्रदान गरेको जनाएको छ। विपद्को समयमा पीडित परिवारको सहयोगमा सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको संघले जनाएको छ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य शान्ति धामी र अर्जुन पाठकको उपस्थिति रहेको थियो।
अध्यक्ष कुँवरले बाढीपीडितका लागि गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त रकम पीडितको राहत तथा सहयोगमा प्रयोग गरिने बताउनुभयो।
उहाँले ट्रेड युनियन कांग्रेसका सम्पूर्ण संरचनाका सदस्यहरूले थोरै थोरै सहयोग गर्दापनि पीडितलाई सहायता हुने बताउँदै सबैलाई आ – आफ्नो ठाउँबाट सहयोगका लागि अनुरोध गर्नुभएको छ।