alliance khabar

बुधबार, भाद्र १७, २०८३

काठमाडौँ, भदौ १७ गते ।

जलविद्युत् आयोजनामा भएको ठुलो क्षतिले भोटेकोशी बाढीको आर्थिक असर बिमाक्षेत्रमा समेत तीव्र रूपमा देखिन थालेको छ ।

बाढीपछि निर्जीवन बिमा कम्पनीमा परेको प्रारम्भिक दाबी २५ अर्ब ८७ करोड रुपियाँ नाघेको छ, जसको करिब २० अर्ब ५० करोड रुपियाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत मात्रै परेको छ । दर्जनौँ जलविद्युत् आयोजना प्रभावित भएकाले क्षतिको पूर्ण मूल्याङ्कनसँगै दाबी रकम अझ बढ्ने देखिएको छ ।

जलविद्युत् आयोजनाको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले बिमाक्षेत्रमा देखिएको ठुलो वित्तीय दायित्वको सुरुवाती तस्बिर मात्रै भएको बिमाविज्ञ डा. रवीन्द्र घिमिरेले बताउनुभयो ।

नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न १५ निर्जीवन बिमा कम्पनीमा ५८३ वटा बिमालेखमार्फत कुल २५ अर्ब ८७ करोड ३५ लाख रुपियाँ बराबरको दाबी परेको हो । महाविपत्तिका कारण हालसम्म आठ वटा सञ्चालनमा रहेका र चार वटा निर्माणाधीन गरी १२ वटा विद्युत् आयोजनाका संरचना ध्वस्त भएको इप्पानले जनाएको छ । अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत् क्षमता नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ । अर्बौं रुपियाँको लगानी, बर्सौंको मेहनत र आधुनिक प्रविधिबाट निर्माण भएका जलविद्युत् तथा प्रसारण प्रणालीका संरचना केही क्षणमै बाढीले बगाएको छ ।

रकमका आधारमा सबैभन्दा ठुलो दाबी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा आठ वटा बिमालेखमार्फत १३ अर्ब चार करोड २१ लाख रुपियाँ बराबरको दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

त्यसै गरी युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट चार अर्ब ९७ करोड ४८ लाख रुपियाँ, सानिमा जिआइसी इन्स्योरेन्समा १०२ वटा दाबीबाट दुई अर्ब १० करोड २८ लाख रुपियाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ वटा दाबीबाट एक अर्ब ८८ करोड ७३ लाख रुपियाँ र शिखर इन्स्योरेन्समा १२७ वटा दाबीबाट एक अर्ब ८७ करोड ५४ लाख रुपियाँ बराबरको दाबी परेको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्समा ४५ वटा बिमालेखबाट ६४ करोड ७८ लाख रुपियाँ, नेको इन्स्योरेन्समा ६६ वटा बिमालेखबाट ५१ करोड ७० लाख रुपियाँ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा बिमालेखबाट २४ करोड २३ लाख रुपियाँ बराबरको दाबी परेको छ ।

यस्तै नेपाल इन्स्योरेन्समा ३२ वटा बिमालेखबाट २३ करोड ८६ लाख, आइजिआई प्रुडेन्सियलमा २६ वटा बिमालेखबाट १८ करोड ७३ लाख र एनएलजी इन्स्योरेन्समा २१ वटा बिमालेखबाट ११ करोड ३१ लाख रुपियाँ बराबरको दाबी परेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्रभु इन्स्योरेन्समा १४ वटा दाबीबाट तीन करोड १२ लाख, राष्ट्रिय बिमा कम्पनीमा दुई वटा दाबीबाट ७६ लाख, नेसनल इन्स्योरेन्समा दुई वटा दाबीबाट करिब ५३ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा एउटा दाबीबाट पाँच लाख रुपियाँ बराबरको दाबी परेको छ ।

इन्जिनियरिङमा सर्वाधिक दाबी

बिमालेखको प्रकारका आधारमा सबैभन्दा ठुलो रकम इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा केन्द्रित भएको छ । यस शीर्षकमा २० अर्ब ५० करोड ७७ लाख रुपियाँ बराबरको दाबी परेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सम्पत्ति बिमा अन्तर्गत ११३ वटा बिमालेखबाट दुई अर्ब ३४ करोड ६२ लाख रुपियाँ र मोटर बिमा अन्तर्गत ३१३ वटा बिमालेखबाट एक अर्ब ५५ करोड नौ लाख रुपियाँ बराबरको दाबी परेको छ ।

त्यस्तै परिवहन बिमा अन्तर्गत ४७ वटा बिमालेखबाट ८९ करोड ७७ लाख रुपियाँ, अन्य बिमा शीर्षकमा ५४ वटा बिमालेखबाट ५२ करोड ९२ लाख रुपियाँ तथा स्वास्थ्य बिमा अन्तर्गत चार वटा बिमालेखबाट चार करोड १६ लाख रुपियाँ बराबरको दाबी परेको छ ।

बाढीबाट जलविद्युत् आयोजना, सडक तथा अन्य पूर्वाधार, सवारीसाधन, व्यावसायिक सम्पत्ति तथा सीमावर्ती नाकामा रहेका सामानमा ठुलो क्षति पुगेकाले आगामी दिनमा दाबी रकम थप बढ्न सक्ने बिमाविज्ञ घिमिरेले बताउनुभयो ।

दाबी खर्ब पुग्न सक्ने

हालसम्मको दाबी प्रारम्भिक भएकाले वास्तविक क्षतिको विवरण सङ्कलनसँगै दाबीको सङ्ख्या र रकम दुवै बढ्ने अनुमान गरिएको छ । बिमा कम्पनीले भोटेकोशी बाढीबाट हुने कुल बिमा दाबी खर्ब रुपियाँनजिक पुग्न सक्ने बिमाविज्ञ डा. रवीन्द्र घिमिरेको आकलन छ ।

जलविद्युत् आयोजना, निजी घर, होटेल तथा रिसोर्ट, गोदाम, सवारीसाधन र व्यावसायिक सम्पत्तिमा भएको क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन बाँकी छ । प्रभावित क्षेत्रमा सडक तथा पहुँच पूर्वाधारमा समेत क्षति पुगेकाले बिमा कम्पनीका प्राविधिक टोलीलाई स्थलगत निरीक्षणमा जान कठिनाइ भइरहेको नेपाल बिमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले  बताउनुभयो ।

दाबीको विवरण तथा भुक्तानीसम्बन्धी हिसाबकिताब सुरु गरिएको भए पनि पूर्ण विवरण आउन अझै समय लाग्ने भन्दै उहाँले बाढीबाट क्षति भएका बिमितका सम्पत्तिको प्रारम्भिक विवरण सङ्कलन गरी बिमा दाबी प्रक्रियालाई सहज बनाउनसमेत कम्पनीलाई निर्देशन दिइएको लामिछानेले बताउनुभयो ।

भुक्तानीका लागि कम्पनी तयार

बिमाक्षेत्रका अधिकारीले भने ठुलो रकमको दाबी परे पनि नेपाली निर्जीवन बिमा कम्पनी दाबी भुक्तानी गर्न सक्षम रहेको बताएका छन् । विभिन्न बिमा कम्पनीले प्रभावित क्षेत्रमा तथ्याङ्क सङ्कलन र दाबी व्यवस्थापनका लागि ‘डेडिकेटेड टिम’ परिचालन गरेका छन् । फिल्डमा पुग्न कठिन भएकाले क्षतिको पूर्ण मूल्याङ्कनमा समय लाग्ने अवस्था रहेको बिमक सङ्घका कोषाध्यक्ष तथा आइजिआई प्रडेन्सियल इन्स्योरेन्सका सिइओ युगेशभक्त वादे श्रेष्ठले बताउनुभयो ।

बाढीका कारण बिमा दाबी गर्न आवश्यक कागजात तथा प्रमाणसमेत नष्ट भएको हुन सक्ने भएकाले त्यस्ता बिमितका लागि दाबी प्रक्रिया सहज बनाउनुपर्ने सङ्घको माग छ । न्यूनतम कागजात र उपलब्ध प्रमाणका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिने गरी बिमा प्राधिकरणले विशेष मापदण्ड बनाउनुपर्ने सङ्घको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ