काठमाडौं , भदौ १६गते।
रसुवा स्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित दुई जना विद्यार्थीको अध्ययनको सम्पूर्ण जिम्मेवारी बुढानीलकण्ठ नगरपालिकाले लिएको छ।
नगरपालिकाले आफ्नो पूर्वघोषणाअनुसार ती विद्यार्थीलाई नगरपालिकाभित्रका विद्यालयमा भर्ना गराएको हो।
विपद्का कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् र उनीहरूको शैक्षिक भविष्यमा अवरोध नआओस् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक शैक्षिक सहयोगसहित अध्ययनको जिम्मेवारी लिएको जनाएको छ।
बाढीका कारण प्रभावित विद्यार्थीलाई सामान्य अवस्थामा फर्काउन तथा उनीहरूको शिक्षालाई निरन्तरता दिन गरिएको यो पहलले विद्यार्थी र परिवारमा थप हौसला, भरोसा र आत्मविश्वास बढाउने नगरपालिकाले विश्वास लिएको छ।
नगरपालिकाले विपद् कुनै व्यक्ति वा परिवारको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई साथ दिन स्थानीय सरकार, समुदाय तथा नागरिक सबैको सहयोग आवश्यक रहेको उसको भनाइ छ।
आपतविपद्का बेला आफ्नो क्षमता र सामर्थ्यअनुसार गरिएको सानो सहयोगले समेत प्रभावित नागरिकमा ठूलो आशा र भरोसा जगाउन सक्ने भन्दै नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्न सबैमा आग्रह गरेको छ।
शिक्षा जस्तो मौलिक अधिकारलाई विपद्का कारण रोक्न नहुने मान्यतासहित नगरपालिकाले गरेको यो पहलले स्थानीय तहले विपद् व्यवस्थापनसँगै प्रभावित बालबालिकाको शैक्षिक निरन्तरतामा पनि जिम्मेवारी लिनुपर्ने सन्देश दिएको छ।