काठमाडौं,भदौ १५ गते ।
भदौ १० गते बुधबार रसुवा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत , उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रु. १ करोड ५० लाख सहयोग गरेको छ।
सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। उक्त रकमको चेक संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमारले’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सोमबार हस्तान्तरण गर्नुभएको हो ।
संघका अनुसार संकलित रकम कुनै व्यक्ति वा संस्थाको व्यक्तिगत श्रेयका लागि नभई विपद्को समयमा नेपाली समाजप्रतिको साझा जिम्मेवारी र मानवीय दायित्वका रूपमा जुटाइएको हो।
संघका तर्फबाट डिक बहादुर खत्री ‘कुमार’ले “विपद्मा साथ, मानवतामा हातेमालो” भन्ने भावनाका साथ सहयोग गरिएको बताउनुभयो।
उहाँले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मानवीय सेवाका लागि गरिएको यस प्रयासले सामाजिक एकता र सहकार्यको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।