काठमाडौँ, भदौ १४ गते ।
रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले भदौ १४ गते बिहान ७ बजेसम्म दुई हजार ६९७ जनाको उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट नेपाली सेनाका हवाई साधनमार्फत विदेशी नागरिक २१६ जनासहित दुई हजार ४९७ जनाको हवाई उद्धार गरिएको छ । उद्धार गरिएका विदेशी नागरिकमा १२१ भारतीय, चार जर्मन, ७२ चिनियाँ, दुई अमेरिकी, दुई इटालियन, एक ओमानी र १५ कोरियाली नागरिक रहेका छन् ।
त्यस्तै, स्थलमार्गबाट २०० जनाको उद्धार गरिएको छ । हवाई तथा स्थल उद्धार गरी हालसम्म जम्मा दुई हजार ६९७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब आठ हजार ३०० भन्दा बढी सैनिक खटिएर विभिन्न निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् ।
यसैगरी, विभिन्न उपकरणको प्रयोग गरी जलविद्युत् आयोजनाका सुरुङका प्रवेशद्वार पत्ता लगाउने कार्यसमेत भइरहेको छ । त्रिशूली हाइड्रोपावरको ‘घब्’ टनेलको प्रवेशद्वार पत्ता लगाउन रातभर प्रयास गरिएको थियो ।
तर, राति २ बजेपछि ठुलो वर्षा हुनुका साथै खोलाको सतह बढेर खाल्डोमा समेत पानी भरिएपछि उक्त कार्य केही समयका लागि रोकिएको नेपाली सेनाले जनाएको छ ।