काठमाडौं, भदौ १३गते।
रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बुढानीलकण्ठ नगरपालिकाले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ।
नगर कार्यपालिकाको ९३औँ आकस्मिक बैठकले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नगरपालिकाले मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।
बाढी प्रभावित नागरिकका लागि स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन गर्ने तथा घाइतेलाई काठमाडौंसम्म ल्याउन आवश्यक सवारी साधनको व्यवस्था गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ। घाइतेहरूको उपचारका लागि आवश्यक रगत उपलब्ध गराउन रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ।
नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाद्वारा जारी प्रेस विज्ञप्तिमा राहत सामग्री संकलन गरी एकद्वार प्रणालीबाट वितरण गर्ने जनाइएको छ।
नगरपालिकाले विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न संघ–संस्थालाई सहयोगका लागि अपिल समेत गरेको छ।





