काठमाडौं भदौ १० गते।
रसुवा जिल्लाको भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्ला तथा आसपासका सीमा जोडिएका जिल्लाहरुमा जनधनको क्षति भएपछि गोकर्णेश्वर नगरपालिकाले विपद् प्रभावितको उद्धार तथा उपचारमा सहयोग गर्ने भएको छ।
बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुप्रति गोकर्णेश्वर नगरपालिकाले दुःख व्यक्त गर्दै विपद्मा परेका तथा घाइते नागरिकको उद्धारका लागि दुईवटा एम्बुलेन्स र १० जना नगर प्रहरीसहितको गाडी परिचालन गर्न सक्ने व्यवस्था गरेको जनाएको छ।
त्यस्तै, बाढीका कारण घाइते भएकाहरूको उपचारका लागि नेपाल मेडिकल कलेज, काठमाडौं, शङ्खरापुर अस्पताल, काठमाडौं र नेपाल अर्थोपेडिक अस्पताल, काठमाडौंमा १५/१५ जनाको निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट गोसाइँकुण्ड तीर्थयात्रामा रहेका तथा कुनै काम विशेषले रसुवा क्षेत्रमा पुगेका नगरवासीलाई समेत अप्ठ्यारो परेको अवस्थामा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ।
नगरपालिकाले त्यस्ता नागरिकको उद्धार तथा आवश्यक सहयोगका लागि नगर प्रमुख श्री दीपककुमार रिसाललाई सम्पर्क गर्न आग्रह गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा स्थानीय तहको सक्रियता आवश्यक रहेको भन्दै गोकर्णेश्वर नगरपालिकाले आफ्नोतर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
