गलकोट (बागलुङ), भदौ ९ गते ।
बागलुङमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो समय जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको हो। दुई महिनाको अवधिमा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६४६ पुगेको छ।
बागलुङ नगरपालिकामा मात्रै सबैभन्दा धेरै डेङ्गु सङ्क्रमण देखिएको छ। जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिकामा ४५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो तथ्याङ्क असार र साउन महिनाको हो।
त्यस्तै, गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा ४५, जैमिनी नगरपालिकामा २७, ढोरपाटन नगरपालिकामा १७, ताराखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा तीन, निसीखोला गाउँपालिकामा सात, तमानखोला गाउँपालिकामा दुई र बरेङ गाउँपालिकामा दुई जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। अन्य पालिका घर भई बागलुङमा उपचारका लागि आएका ३८ जनासहित जिल्लामा कुल ६४६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
बागलुङ सदरमुकाममा दैनिक २० देखि ३० जनासम्ममा डेङ्गु सङ्क्रमण देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो। बागलुङ बजारमा साउनमा मात्रै १८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। निरन्तर पानी परेसँगै यहाँ डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको हो। बागलुङ नगरपालिका डेङ्गु सङ्क्रमणको हटस्पट बनेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार डेङ्गु सङ्क्रमण बढेपछि वडा तहमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ।
हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ। लामखुट्टेको लार्भा र बासस्थान हुन सक्ने ग्यारेज, टायर, फूलदानीलगायतका स्थानमा निगरानी बढाउँदै सम्भावित प्रजननस्थल नष्ट गर्ने काम भइरहेको छ।
डेङ्गु सङ्क्रमण फैलिएपछि धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिबाङ र गलकोट अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढेको प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो। यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएका बिरामीको मात्र हो। निजी स्वास्थ्य संस्था तथा मेडिकलमा समेत डेङ्गु परीक्षण भइरहेकाले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ।
लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्ने तथा पानी जम्न नदिने उपाय अपनाउन समुदायमा जनचेतना फैलाउने कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।