तनहुँ, भदौ ७ गते ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका विवाद र असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
गृह जिल्ला तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीको एकता जोगाउन आफूहरू हदसम्म लचक हुन तयार रहेको बताउनुभयो । महामन्त्री पौडेलले नियमित रूपमा महाधिवेशन भएको भए अहिले पार्टीभित्र देखिएको विवाद र समस्या उत्पन्न नहुने दाबी गर्नुभयो ।
“हामीले पटक–पटक नियमित महाधिवेशन गर्न आग्रह गर्यौँ । तर त्यसको सुनुवाइ भएन,” उहाँले भन्नुभयो, “विशेष महाधिवेशनको मागलाई समेत बेवास्ता गरियो ।” विशेष महाधिवेशनपछि पनि दुवै पक्षबिच सहमति कायम गर्ने उद्देश्यले निरन्तर छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई सय एक जना सदस्य चयन गरिए पनि अर्को पक्षबाट एक सय एक जना सदस्य समायोजन गर्ने प्रस्ताव आएको थियो । तर थप सदस्य समायोजन गर्दा पार्टीको वैधानिकतामाथि प्रश्न उठ्न सक्ने र विभाजनको जोखिम बढ्न सक्ने भएकाले सहमति हुन नसकेको उहाँले बताउनुभयो । “हामी पार्टीलाई विभाजनको दिशामा जान दिँदैनौँ,” महामन्त्री पौडेलले भन्नुभयो, “कसैलाई पद पुग्दैन भने म महामन्त्री पद छाड्न पनि तयार छु ।” पार्टीभित्रको पद र जिम्मेवारीभन्दा पार्टीको एकता र संस्थागत भविष्य महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
महामन्त्री पौडेलले असहमति हुनु स्वाभाविक भए पनि त्यसलाई संवादबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री पौडेल शनिबार गृह जिल्ला आउनु भएको हो ।
उहाँले व्यक्तिगत अडानभन्दा पार्टीको एकता र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिएर अघि बढ्न सबै पक्षलाई आग्रह गर्नुभयो ।