गलकोट (बागलुङ), भदौ ३ गते ।
बागलुङको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको छ । गाउँपालिकाले ७४ लाख रुपियाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ८७ लाख ६१ हजार २२९ रुपियाँ राजस्व संकलन गर्न सफल भएको हो ।
निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरका अनुसार लक्ष्यभन्दा १८.४ प्रतिशत बढी राजस्व संकलन भएको छ ।
उहाँले भन्नुभयो, “हामीले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएका छौँ । त्यसैले आगामी आर्थिक वर्षका लागि राजस्व संकलनको लक्ष्य बढाएर ९० लाख रुपैयाँ पुर्याएका छौँ ।”
गत आर्थिक वर्षमा गाउँपालिकाबाट प्रत्यक्ष रूपमा २८ लाख ४९ हजार २३७ रुपियाँ राजस्व संकलन भएको थियो भने बाँकी रकम वडा कार्यालयमार्फत संकलन गरिएको थियो । गाउँपालिकाले गत आर्थिक वर्षमा कुल ८६.२५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ ।
पुँजीगत खर्चतर्फ ७८.८ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पुनमगरले बताउनुभयो । उहाँका अनुसार यो जिल्लामै राम्रो पुँजीगत खर्चमध्ये एक हो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा ठेक्का प्रक्रियामार्फत १४ वटा योजना सञ्चालन गरेकामा १३ वटा योजना सम्पन्न भएका छन् । भेडाको पाठा खरिदसम्बन्धी एउटा योजनामा पटक–पटक ई–बिडिङ गर्दा पनि कसैले बोलपत्र दर्ता नगरेकाले योजना कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।
उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका १६२ योजनामध्ये १५६ वटा योजना सम्पन्न भएका छन् । वडा नं. १ र ७ मा विनियोजित सबै योजना कार्यान्वयन भएका छन् भने वडा नं. २ का दुई वटा तथा अन्य वडाका एक–एक वटा योजना कार्यान्वयन हुन नसकेको गाउँपालिकाका योजना प्रमुख डिलराम बाठाले जानकारी दिनुभयो ।
निसीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा पछिल्लो समय बेरुजु घटाउने कार्यलाई प्राथमिकता दिइएको उल्लेख छ ।
लेखा शाखा प्रमुख हरि बुढाले बेरुजु न्यूनीकरणका लागि विभिन्न उपाय अवलम्बन गरिएको बताउँदै भन्नुभयो, “विगतको तुलनामा बेरुजुको मात्रा क्रमशः घट्दै गएको छ ।”