काठमाडौँ, भदौ २ गते ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सोमबार घरका मूलढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्बिर टाँसी विधिपूर्वक पूजाआराधना गरेर मनाइएकोे छ ।
आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रहिआएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख वराहलगायतका पुराणमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
नागपञ्चमीको दिन पशुपति क्षेत्रस्थित वासुकीनाथ मन्दिर, काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्दछ । साथै चाँगुनारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको लाम लाग्ने गर्छ ।
नागपूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने परम्पर रहिआएको छ । नागपञ्चमीको दिन खनजोत गरेमा नाग मारिन्छ भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेतबारीमा नागस्थान बनाई पूजा गरिन्छ । नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूलढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङलगायतको भय नहुने धार्मिक विश्वाससमेत नेपाली समाजमा छ । नाग अर्थात् सर्पले वातावरणीय सन्तुलनका लागि समेत सहयोग गर्ने गर्छ ।