alliance khabar

मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ, भदौ २ गते ।

आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैङ्कले करिब ७० अर्ब रुपियाँ खुद नाफा आर्जन गरेका छन् । नाफा कमाए पनि बैङ्कको लाभांश वितरण गर्ने क्षमता भने कमजोर देखिएको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैङ्कहरूले ६९ अर्ब ८६ करोड ६० लाख रुपियाँ नाफा कमाउँदा चार बैङ्कको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ ।

अघिल्लो आवको तुलनामा बैङ्कको समग्र नाफामा उल्लेख्य सुधार देखिए पनि खराब कर्जा, ‘प्रोभिजनिङ तथा इम्पेयरमेन्ट चार्ज’ का कारण सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने क्षमता भने कमजोर बनेको छ । उपलब्ध विवरण अनुसार चार बैङ्कको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

खुद नाफा आर्जनमा नबिल बैङ्क सबैभन्दा अगाडि छ । नबिलले सात अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपियाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको कुमारी बैङ्कले सात अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपियाँ तथा ग्लोबल आइएमई बैङ्कले छ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपियाँ नाफा कमाएका छन् ।

त्यस्तै एभरेस्ट बैङ्कले पाँच अर्ब छ करोड ९९ लाख रुपियाँ, राष्ट्रिय वाणिज्य बैङ्कले चार अर्ब ५५ करोड ६९ लाख रुपियाँ र नेपाल बैङ्कले चार अर्ब ५० करोड रुपियाँभन्दा बढी खुद नाफा कमाएका छन् । प्राइम कमर्सियल बैङ्क, एनएमबी बैङ्क, सानिमा बैङ्क, सिद्धार्थ बैङ्क, लक्ष्मी सनराइज बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले पनि उल्लेख्य नाफा आर्जन गरेका छन् ।

वित्तीय विवरण अनुसार सबै बैङ्कको अवस्था समान छैन । प्रभु बैङ्क २४ करोड १२ लाख रुपियाँ खुद घाटामा रहेको छ भने एनआइसी एसिया बैङ्कको खुद नाफा १८ करोड १७ लाख रुपियाँमा सीमित भएको छ । हिमालयन बैङ्कले एक अर्ब ४८ करोड रुपियाँभन्दा बढी नाफा कमाएको छ ।

चार बैङ्कको लाभांश क्षमता ऋणात्मक

खुद नाफा र सेयरधनीलाई वितरण गर्न सक्ने नाफाबिच ठुलो अन्तर देखिएको छ । एनआइसी एसिया, हिमालयन, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

वितरणयोग्य नाफाका आधारमा एभरेस्ट बैङ्क सबैभन्दा बलियो देखिएको छ । बैङ्कको वितरणयोग्य नाफा पाँच अर्ब २५ करोड ७८ लाख रुपियाँ रहेको छ । त्यस्तै नबिल बैङ्कको करिब पाँच अर्ब १६ करोड र ग्लोबल आइएमई बैङ्कको करिब चार अर्ब ५८ करोड रुपियाँ लाभांश वितरण गर्ने क्षमता देखिएको छ ।

एनआइसी एसिया बैङ्कको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपियाँले ऋणात्मक, हिमालयन बैङ्कको नौ अर्ब ८४ करोड रुपियाँले ऋणात्मक र प्रभु बैङ्कको छ अर्ब ३१ करोड रुपियाँले ऋणात्मक रहेको विवरणमा उल्लेख छ ।

चुनौती बन्दै खराब कर्जा

बैङ्कहरूको लाभांश क्षमता कमजोर हुनुको प्रमुख कारण खराब कर्जा व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम हो । बैङ्कहरूले गत आवमा कुल ३९ अर्ब ४० करोड रुपियाँ इम्पेयरमेन्ट चार्जका रूपमा छुट्याएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले मात्रै छ अर्ब १९ करोड र ग्लोबल आइएमई बैङ्कले चार अर्ब ७८ करोड रुपियाँ इम्पेयरमेन्ट चार्जमा खर्च गरेका छन् ।

खराब कर्जाको अवस्था हेर्दा एभरेस्ट बैङ्क सबैभन्दा बलियो देखिएको छ । बैङ्कको निष्व्रिmय कर्जा ०.४९ प्रतिशत मात्रै रहेको छ । यसको विपरीत प्रभु बैङ्कको खराब कर्जा १५.५५ प्रतिशत पुगेको छ ।

इपिएसमा एभरेस्ट अगाडि

सेयरधनीका लागि महìवपूर्ण मानिने प्रतिसेयर आम्दानी (इपिएस) मा एभरेस्ट बैङ्क सबैभन्दा अगाडि छ । बैङ्कको इपिएस ३६.९५ रुपियाँ रहेको छ । त्यसपछि नेपाल बैङ्कको ३०.६३ रुपियाँ, राष्ट्रिय वाणिज्य बैङ्कको २९.१४ रुपियाँ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको २८.३८ रुपियाँ र नबिल बैङ्कको २८.३६ रुपियाँ रहेको छ ।

प्रभु बैङ्कको इपिएस भने १.०२ रुपियाँ ऋणात्मक रहेको छ । यसले बैङ्कको नाफा उत्पादन क्षमतामा ठुलो अन्तर रहेको देखाउँछ ।

प्रतिसेयर नेटवर्थमा नेपाल बैङ्क २८७.७० रुपियाँसहित अगाडि रहेको छ । एभरेस्ट र नबिल बैङ्क त्यसपछि रहेका छन् ।

सर्वाधिक निक्षेप राष्ट्रिय वाणिज्यमा बैङ्कको आकारका आधारमा राष्ट्रिय वाणिज्य बैङ्क र ग्लोबल आइएमई बैङ्क अगाडि देखिएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कको निक्षेप छ खर्ब ८६ अर्ब १३ करोड रुपियाँ पुगेको छ भने ग्लोबल आइएमई बैङ्कको निक्षेप छ खर्ब ६९ अर्ब १७ करोड रुपियाँ रहेको छ ।

कर्जा प्रवाहमा भने नबिल बैङ्क अगाडि रहेको छ । नबिलले करिब चार खर्ब ६० अर्ब ३१ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । ग्लोबल आइएमई बैङ्कको कर्जा प्रवाह चार खर्ब ३९ अर्ब ३४ करोड रुपियाँ रहेको छ ।

वित्तीय स्वास्थ्य असमान

वित्तीय विवरण अनुसार समग्रमा २० वाणिज्य बैङ्कको बैङ्किङ क्षेत्रमा सुधार देखिए पनि सबै बैङ्कको वित्तीय स्वास्थ्य समान नरहेको देखिएको छ । एकातर्फ नाफा, इपिएस, निक्षेप तथा जोखिम व्यवस्थापनमा बलिया बैङ्क छन् भने अर्कोतर्फ उच्च खराब कर्जा र प्रोभिजनिङको दबाबमा रहेका छन् । बैङ्कको मुख्य आम्दानीको स्रोत अझै ब्याज आम्दानी नै रहेको छ ।

कुल दुई खर्ब ५३ अर्ब रुपियाँ सञ्चालन आम्दानीमध्ये एक खर्ब ९२ अर्ब रुपियाँ अर्थात् ७५ प्रतिशतभन्दा बढी खुद ब्याज आम्दानीबाट आएको छ । शुल्क तथा कमिसनबाट बैङ्कले ३९ अर्ब ४९ करोड रुपियाँ आम्दानी गरेका छन् ।

यसले आगामी दिनमा बैङ्कको चुनौती केबल नाफा बढाउनुमा सीमित नरही खराब कर्जा नियन्त्रण, कर्जा असुली, जोखिम व्यवस्थापन, पुँजीको प्रभावकारी परिचालन र वितरणयोग्य नाफा बढाउनुपर्ने देखाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ