कैलाली, साउन २९ गते ।
सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्नुभएको छ। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहनुभएका भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको हो।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुभएको थियो। उहाँको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गर्नुभएको थियो। तत्काली मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो।
नेकपा र एमालेबिच भएको सत्ता सहकार्यको समझदारीअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाको भागमा परेको हो। मुख्यमन्त्री भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुभएको छ।
नवनिर्मित सरकारमा नेकपा एमालेका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्लले आर्थिक मामिलामन्त्री र दमन भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका रूपमा शपथ लिनुभएको छ। यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ।
एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो। मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेकपाका तर्फबाट भने तत्काल अन्य मन्त्री नियुक्त भएका छैनन्। समझदारीअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने छन्।
यसअघि साउन २८ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको थियो।