काठमाडौँ, साउन १७ गते ।
यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । चलिरहेको इडिएलभिआरएस सफ्टवेयर प्रणालीलाई थप व्यवस्थित र अपग्रेड गरी सञ्चालनमा ल्याएको हो । अपडेट गर्न भन्दै साउन १ गतेदेखि सेवा बन्द गरेको विभागले बिहीबारदेखि सुचारु भएको जनाएको छ । यातायात कार्यालयमा सवारी दर्र्ता, नामसारी, सवारीचालक अनुमतिपत्र लाइसेन्स नवीकरण तथा नयाँ परीक्षा र राजस्व भुक्तानीलगायतका सेवा सुचारु भएका छन् । विभागका निर्देशक केशव खतिवडाले भन्नुभयो, “सफ्टवेर अपडेटको काम सम्पन्न गरी अहिले सेवा सञ्चालनमा आएको छ, यातायात कार्यालयले नयाँ सिस्टममा प्राविधिक तयारीका काम गरेका छन् ।”
खतिवडाका अनुसार देशभर नयाँ प्रणाली कार्यान्वयनमा आएको छ । नयाँ प्रणालीलाई व्रmमिक रूपमा देशभरका यातायात कार्यालयले प्रयोगमा ल्याउँदै छन् । प्रारम्भिक चरणमा सेवाग्राहीले अनलाइन सूचीमा रहेका चिकित्सकको सम्पर्कलाई सहज बनाउन प्राविधिक कठिनाइ परिरहेको विभागले जनाएको छ । क्रमिक रूपमा प्राविधिक कठिनाइको समाधान गर्दै कार्यान्वयन गरिँदै जाने खतिवडाले बताउनुभयो ।
विभागले पुरानो इडिएलबाट नयाँ इडिएलमा डेटा माइग्रेसन गरेर बढेका करका दर इन्ट्री गरी सबै काम अनलाइनबाटै हुने गरी अपडेट गरको हो । अपग्रेड भएपछि लाइसेन्स प्राप्त गर्नका लागि स्वास्थ्य परीक्षण गराउन पनि यातायात कार्यालयमा जानु पर्दैन । बायोमेट्रिक भेरिफिकेसनदेखि भुक्तानीका सबै प्रक्रिया अनलाइनबाटै हुन्छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनाले भने नयाँ प्रणालीमा आगामी सोमबारदेखि काम हुन सक्ने जनाएको छ ।