हुम्ला, साउन ७ गते ।
खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषक समूह र सहकारी संस्थालाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ। स्थानीय उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्दै कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले थ्रेसर तथा विभिन्न प्रशोधन उपकरण उपलब्ध गराएको हो। यसबाट कृषकले कम समय र कम श्रममा कृषि उत्पादन प्रशोधन गर्न सक्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका कृषि प्राविधिक हर्कवीर रावलका अनुसार ३१ वटा कृषक समूह तथा सहकारी संस्थालाई १७ वटा कम्बाइन राइस मिल, छ वटा मल्टिक्रप थ्रेसर, पाँच वटा कोदो थ्रेसर र तीन वटा फ्लोर मिल हस्तान्तरण गरिएको छ।
उहाँका अनुसार स्थानीय स्तरमा उत्पादन हुने रैथाने बाली अब छिटो, सहज र गुणस्तरीय रूपमा चुटानी, कुटानी तथा पिसानी गर्न सकिनेछ। यसले परम्परागत श्रममुखी प्रविधिको प्रयोग क्रमशः घटाउँदै आधुनिक कृषि प्रविधिको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले रैथाने बालीको उत्पादन वृद्धि, संरक्षण तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले प्रशोधन मेसिन वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकामा उत्पादन हुने धान, कोदो, फापर, चिनो, कागुनोलगायत रैथाने बाली अब स्थानीय स्तरमै प्रशोधन गर्न सकिनेछ।
वितरण गरिएका मेसिन छिट्टै सञ्चालनमा ल्याइने र यसबाट कृषकको उत्पादन लागत घट्नुका साथै समयको बचत हुने अध्यक्ष रावलले बताउनुभयो।
गाउँपालिकाका अनुसार कृषि उत्पादनलाई बजारसँग जोड्ने, प्रशोधनमार्फत उत्पादनको मूल्य अभिवृद्धि गर्ने तथा कृषकको आम्दानी बढाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। मेसिन सञ्चालनमा आएपछि प्रशोधनका लागि बाहिर धाउनुपर्ने बाध्यता हट्ने र स्थानीय स्तरमै सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी कृषक तथा सहकारीका प्रतिनिधिले गाउँपालिकाले उपलब्ध गराएको कृषि उपकरणले खेतीपातीलाई थप आधुनिक, सहज र उत्पादनमुखी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
खार्पुनाथ गाउँपालिकाले आगामी दिनमा पनि कृषि आधुनिकीकरण, यान्त्रिकीकरण तथा रैथाने बालीको संरक्षण र बजारीकरणलाई प्राथमिकतामा राख्दै कृषकमैत्री कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।