रेसुङ्गा (गुल्मी), साउन ७ गते ।
गुल्मी अस्पताल तम्घासमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु गरिएको छ। च्वाइस ह्युमानिटेरियनको सहयोगमा अत्याधुनिक इकोकार्डियोग्राफी मेसिन प्राप्त भएपछि अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा जनरल फिजिसियन विशेषज्ञ डा. विभव बस्यालका अनुसार नयाँ सेवाले मुटुसम्बन्धी रोगको समयमै पहिचान गर्न, जटिल बिरामीलाई आवश्यक परेमा उच्चस्तरीय अस्पतालमा रेफर गर्न तथा उपचार सम्भव भएका बिरामीलाई गुल्मी अस्पतालमै सेवा दिन सहज भएको छ।
उहाँका अनुसार यसअघि अस्पतालमा रहेको पुरानो र सानो मेसिनबाट मुटुसम्बन्धी धेरै समस्या पहिचान गर्न कठिन थियो। नयाँ अत्याधुनिक मेसिनमार्फत मुटुको बनोट, कम्पन तथा अन्य जटिल समस्या प्रभावकारी रूपमा परीक्षण गर्न सकिनेछ।
अस्पतालले हरेक दिन बिहान ११ बजेदेखि यो सेवा उपलब्ध गराउने जनाएको छ। डा. बस्यालका अनुसार यस सेवाबाट मुटुको रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न, जन्मजात मुटुसम्बन्धी समस्या भएका बिरामीलाई समयमै उपचारमा लैजान तथा जटिलता कम गर्न सहयोग पुग्नेछ।
मालिका गाउँपालिका–८ का धनबहादुर पौडेलले आफ्नै जिल्ला अस्पतालमा इकोकार्डियोग्राफी सेवा सुरु भएपछि निकै राहत मिलेको बताउनुभयो। मुटुको शल्यक्रियापछि नियमित इकोकार्डियोग्राफी परीक्षणका लागि बुटवल धाउनुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ।
गुल्मी अस्पतालमा दैनिक सरदर ३०० जना बिरामीले सेवा लिने गरेका छन्। गुल्मी र अर्घाखाँचीका नागरिकलाई सेवा दिँदै आएको अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, बालरोग, विशेषज्ञ चिकित्सक सेवा, स्तरीय प्रयोगशाला, मिर्गौलाको हेमोडायलाइसिस, अक्सिजन प्लान्ट तथा स्वास्थ्य बीमालगायतका सेवा सञ्चालनमा छन्।
अस्पतालप्रति जिल्लावासीको अपेक्षा बढ्दो छ। उपचारकै लागि ठुला सहर धाउनुपर्ने बाध्यता अन्त्य होस् भन्ने नागरिकको चाहना रहेको छ। रेसुङ्गा नगरपालिका–८ की ७१ वर्षीया तुल्सी विश्वकर्माको स्तन क्यान्सरको सफल शल्यक्रिया पनि गुल्मी अस्पतालमै गरिएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डेको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको थियो। अस्पतालले मासिक रूपमा क्यान्सर परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको छ।
गुल्मी अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले नयाँ अस्पताल भवन समयमै निर्माण नहुँदा सेवा प्रवाह र नयाँ सेवा विस्तारमा कठिनाइ भएको बताउनुभयो। हेमोडायलाइसिस सेवाका लागि जनशक्ति व्यवस्थापन, एचडियु र आइसियु सञ्चालनका लागि आवश्यक पहल भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार अक्सिजन प्लान्टको पाइपलाइन विस्तार, इन्धन व्यवस्थापन तथा नयाँ भवन सञ्चालन र व्यवस्थापनका चुनौती समाधानका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको छ।