न्युयोर्क, साउन ३ गते ।
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना विश्व च्याम्पियन बन्न भिड्दै छन् । यो फाइनल अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र स्पेनका लामिने यमालका कारण पनि चर्चामा छ । यी दुईबिचको भिडन्त हुने भएकाले मात्र होइन, यो फाइनल करिब १९ वर्षअघि खिचिएको यी दुईको तस्बिरले पनि चर्चा भएको हो ।
सन् २००७ मा २० वर्षीय मेसी बार्सिलोनाको पहिलो रोजाइका खेलाडी बन्ने क्रममा हुनुहुन्थ्यो । सो समय यमाल केवल पाँच महिनाका हुनुहुन्थ्यो । त्यसबेला युनिसेफको एक सामाजिक सन्देशको विज्ञापनका लागि मेसीले पाँच महिनाका यमाललाई काखमा बोकेर बाथ टबमा नुहाइदिएको तस्बिर फोटोग्राफर जोआन मोनफोर्टले खिच्नुभएको थियो । अहिले यी दुई नै विश्वकपको फाइनलमा आमनेसामने हुँदा सो तस्बिर चर्चाको विषय बनेको हो । हुन त दुई वर्षअघि नै यमालले स्पेनलाई युरो २०२४ जिताउन महŒवपूर्ण भूमिका खेल्दा यो तस्बिर चर्चामा आइसकेको थियो । सो समय यमालका बुवाले इन्स्टाग्राममा सो तस्बिर पोस्ट गर्दै ‘दुई लिजेन्डहरूको सुरुवात’ लेख्नुभएको थियो ।
सो तस्बिरमा मेसीले शिशु (यमाल) लाई नुहाइदिनुभएको छ । त्यसबेला त्यो शिशु भविष्यमा आफ्नै पाइला पछ्याउँदै विश्व फुटबलको अर्को सुपरस्टार बन्ने छ भन्ने कुरा मेसीले पनि कल्पना गर्नुभएको थिएन । सो तस्बिर बार्सिलोनाको तत्कालीन घरेलु मैदान क्याम्प नोउको अवे ड्रेसिङ रुममा खिचिएको थियो । मोरक्कोमा मुनिर नस्राउईले आफ्नो जेठा छोरा यमाल जन्मेको केही समयपछि क्याटालान पत्रिका स्पोर्ट, बार्सिलोनाको जर्सी प्रायोजक तथा बाल अधिकार संस्था युनिसेफले संयुक्त रूपमा आयोजना गरेको ‘लक्की ड्र’ मा भाग लिनुभएको थियो । सो लक्की ड्रमा चयन भएमा सो परिवारका शिशुको बार्सिलोनाका प्रमुख खेलाडीसँग व्यावसायिक तस्बिर खिचिने प्रावधान थियो । यमालको परिवार विजेता बन्यो र संयोगवश मेसीले यमालसँग तस्बिर खिच्नु परेको थियो ।