मियामी, असार ३० गते ।
विश्वकप फुटबल–२०२६ मा इङ्ग्ल्यान्डसँगको क्वाटरफाइनलमा पराजित भएपछि नर्वेसँगै इर्लिङ हालान्डको यात्रा
पनि समाप्त भएको छ । यस हारसँगै हालान्ड गोल्डेन बुटको दौडबाट पनि बाहिरिनुभयो । यस विश्वकपमा सात गोल गरेर हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहनुभएको छ । उहाँभन्दा अगाडि फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनेल मेसी मात्र हुनुहुन्छ ।
इङ्ग्ल्यान्डविरुद्धको खेलमा हालान्डले अपेक्षा अनुरूप खेल्न सक्नुभएन । उहाँलाई अतिरिक्त समयको दोस्रो हाफमा स्थानापन्न पनि गरियो । चालु विश्वकपमा हालान्ड पहिलो पटक गोल गर्न असफल हुनुभएको हो । यद्यपि यस विश्वकपमा हालान्डको यात्रा प्रभावशाली थियो । हालान्ड यस विश्वकपमा सबभन्दा चर्चा र माया पाएका खेलाडी हुनुहुन्छ । हालान्डले आफ्नो प्रेरणादायी खेलले नर्वेलाई गराएको क्वाटरफाइनलसम्मको यात्रा यस विश्वकपको सुन्दर कथामध्ये एक बनेको छ । हालान्डले भन्नुभयो, “विश्वकपले मेरो जीवन परिवर्तन गरेको छ, यसै गरी हामीले नर्वेलाई पनि फुटबलको नक्सामा सही ठाउँमा पु¥यायौँ जस्तो लाग्छ ।”
म्यान्चेस्टर सिटीका स्ट्राइकर हालान्ड पहिलो पटक विश्वकप फुटबल खेल्नुभएको हो तर प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि पछिल्ला चार वर्ष हरेक सत्र ३० भन्दा बढी गोल गरेपछि उहाँमाथि सबैको नजर थियो । हालान्डले नर्वेको जर्सीमा ५४ बलमा ६२ गोल गर्नुभएको छ । जुन असाधारण गोल औसत हो । त्यसैले उहाँलाई विश्वकपअघि नै यस प्रतियोगिताका सबैभन्दा घातक फरवार्डमध्ये एक मानिएको थियो । उहाँ विश्वकपमा आफूमाथिको अपेक्षामा खरो उत्रनुभएको छ । उहाँका बुवा एल्फी हालान्डले पनि नर्वेका लागि विश्वकप (सन् १९९४) खेलिसक्नुभएको छ ।