न्युयोर्क, असार ३० गते ।
विश्वकप फुटबल–२०२६ मा पहिलो सेमिफाइनलमा मङ्गलबार राति फ्रान्स र स्पेनबिच हुँदै छ । यी दुई टिम यस विश्वकपमा सर्वश्रेष्ठ टिम हुन् । त्यसैले युरोपेली च्याम्पियन स्पेन र गत उपविजेता फ्रान्सबिचको खेललाई फाइनलअघिको फाइनल भनिएको छ ।
कप्तान किलियन एम्बापेको प्रेरणामा रहेको फ्रान्स यस विश्वकपकै सबभन्दा उत्कृष्ट फरवार्डपङ्क्ति भएको टिम हो । जसमा एम्बापेसहित बालन डी ओर विजेता ओसमान डेम्बेले, बायर्न म्युनिखका स्टार माइकल ओलिस, पेरिस सेन्ट जर्मनका ब्राडली बार्कोला र डिजाइरी डोउ जस्ता स्ट्राइकर हुनुहुन्छ । एम्बापेले आठ गोल र तीन ‘एसिस्ट’ र डेम्बलेले पाँच गोल गरिसक्नुभएको छ । ओलिसको सिर्जनात्मक खेल पनि जारी छ । ओलिसको नाममा अहिलेसम्म पाँच एसिस्ट रहेको छ तर यी खेलाडीलाई पनि स्पेनको डिफेन्स तोड्न सहज हुने छैन । यस विश्वकपमा स्पेन प्रिक्वाटरफाइनलसम्म गोल नबेहोरेर लगातार छ खेल ‘क्लिनसिट’ को कीर्तिमान बनाएको टिम हो । यस क्रममा स्पेनका गोलरक्षक उनाई सिमन्सले ६५० मिनेटपछि विश्वकपमा गोल नबेहोरेर कीर्तिमान पनि राख्नुभयो । क्वाटरफाइनलमा बेल्जियमका फरवार्ड चाल्र्स डी केटेलारेले सानदार हेडरले गोल गरेपछि मात्र सिमन्सको कीर्तिमान थप लम्बिन पाएन ।
यस विश्वकपमा फ्रान्सको जस्तो आक्रामक स्वभाव स्पेनले देखाएको छैन तर लुइस डी ला फुयन्टेको प्रशिक्षकत्वमा उसले सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दै छ । जुन शैलीमा खेलेर स्पेन सन् २०१० मा विश्वकप च्याम्पियन बनेको थियो । डी ला फुएन्टेकै प्रशिक्षकत्वमा स्पेनले सन् २०२३ मा युइएफए नेसन्स लिग र सन् २०२४ मा युरोपियन कप जितेको थियो । पछिल्लो वर्ष पनि स्पेनले नेसन्स लिगको फाइनल खेलेको थियो । स्पेन एकजुट भएर फुटबल खेल्नेमा विश्वास गर्ने टिम हो । यस टिममा रोड्री, पेड्री र फाबियन रुइज जस्ता विश्वस्तरीय मिडफिल्डर हुनुहुन्छ । सो मिडफिल्डलाई अहिलेका सनसनी ‘टिनेज’ विन्गर लामिने यमालको साथ छ । स्पेनका फरवार्डमध्ये अनपेक्षित रूपमा मिकेल आयरजाबल चार गोल गरेर चम्किनुभएको छ । यद्यपि पछिल्ला दुई खेलमा उहाँले गोल गर्न सक्नुभएन । त्यसैले स्पेनी फरवार्डमा चर्चा वैकल्पिक स्ट्राइकर मिकेल मेरिनोको छ । मेरिनोले स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेर प्रिक्वाटरफाइनलमा पोर्चुगल र क्वाटरफाइनलमा बेल्जियमविरुद्ध अन्तिम समयमा निर्णायक गोल गर्नुभएको थियो ।
अब यी खेलाडीसमक्ष अहिलेसम्म खासै परीक्षण हुन नपाएको फ्रान्सका डिफेन्सलाई दबाब दिने चुनौती छ तर फ्रान्सविरुद्धको हालका प्रदर्शनले स्पेनलाई उत्साहित भने पारेको छ । गत वर्ष युइएफए नेसन्स लिगमा स्पेनले फ्रान्सलाई ५–४ ले हराएको थियो । यसै गरी युरो–२०२४ जित्ने क्रममा पनि स्पेनले फ्रान्सको चुनौती सेमिफाइनलमा २–१ ले समाप्त पारेको थियो ।
यद्यपि यस विश्वकपमा सबभन्दा प्रभावशाली टिमको रूपमा प्रस्तुत भएको फ्रान्सले यस विश्वकपमा १६ गोल गरेर मात्र दुई गोल बेहोरेको छ । आफ्नो ‘फ्रिफ्लोइङ’ खेलले अहिलेसम्म सबै खेलमा सहज जित प्राप्त गरेको फ्रान्सेली टिम यस विश्वकपको सबभन्दा सन्तुलित टिम पनि हो । जसको ‘बेन्च’ शक्ति पनि उत्तिकै बलियो छ । १९ वर्षीय यमालले पनि फ्रान्स उपाधिको प्रमुख दाबेदार भए पनि आफ्नो टिम नडराएको बताउनुभएको छ । “स्पेनलाई डराउनु जरुरी नै छैन । हामी दुई विश्वका उत्कृष्ट टिम हौँ, हेरौँ के हुन्छ तर हामी चिन्तित छैनौँ । सो खेलमा दुई सम्भावना मात्र छ । कि उनीहरू लगातार तेस्रो पटक विश्वकपको फाइनलमा खेल्ने छन् वा हामी लगातार तेस्रो पटक फ्रान्सलाई हराउने छौँ” यमालले भन्नुभयो ।
विश्वकपको इतिहासमा फ्रान्स लगातार तीन संस्करणमा फाइनल खेल्ने मात्र तेस्रो टिम बन्ने दाउमा हुने छ । जर्मनीले (१९८२–९० र २००२–१४) तथा ब्राजिलले (१९९४, १९९८, २००२) मा लगातार तीन विश्वकप फाइनल खेलेका थिए । एम्बापेले फ्रान्स सर्वश्रेष्ठ हो भनेर देखाउन बाँकी नै रहेको बताउनुभयो । “हाम्रो क्षमता हामीलाई थाहा छ तर अजयको ट्याग लाग्दैमा खेल जितिँदैन । हामी मैदानमा उच्च मनोबलमै जान्छौँ तर खेल जित्न मैदानमा क्षमताको सही सदुपयोग गर्नु पर्छ,” एम्बापेले स्पेनसँगको खेलअघि भन्नुभएको छ ।
यस विश्वकपमा दुवै टिमका केही खेलाडी व्यक्तिगत पुरस्कारको होडमा पनि सामेल छन् । यमाल यस विश्वकपमा युवा प्लेअर अफ दी टुर्नामेन्टका दाबेदार हुनुहुन्छ । यसै गरी स्पेनका गोलरक्षक उनाइ सिमनले गोल्डेन ग्लोभ्स जित्ने सम्भावना धेरै छ । फ्रान्सका किलियन एम्बापेको नजर गोल्डेन बुट र गोल्डेन बल दुवैमा छ । यसै गरी डेम्बेले पनि गोल्डेन बलका दाबेदार हुनुहुन्छ । फ्रान्स र स्पेन फुटबलमा परम्परागत प्रतिद्वन्द्वी हुन् । यी दुई टिमबिच अहिलेसम्म ३८ खेल भएका छन् । जसमध्ये स्पेनले १८ र फ्रान्सले १३ खेल जितेका छन् । सात खेल बराबरीमा सकिएको थियो । विश्वकपमा यी दुई टिम एक पटक मात्र आमनेसामने भएका छन् । सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले स्पेनलाई ३–१ ले पराजित गरेको थियो ।