मकवानपुर, असार १४ गते ।
मकवानपुरको भीमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यक्रमबाट ५२ जना श्रमिक प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् ।
२०८० माघ १३ गते नेपालमा नै पहिलो पटक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको भीमफेदी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा कोषमा पालिकाभित्रका अनौपचारिक श्रेत्रका श्रमिक तथा महिला स्वास्थ्य स्वयंसेविका गरी ११७ श्रमिकलाई आवद्ध गरेसँगै उक्त पालिकाबाट कोषमा आवद्ध हुने श्रमिकको सङ्ख्या ३११ पुगेको छ ।
श्रमिकका लागि आवश्यक रकम कोषमा जम्मा गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो । पालिकाले कोषमा आबद्ध अनौपचारिक क्षेत्रका श्रमिकहरुको केवाइसी अद्यावधिक गर्न गाउँपालिकाले सहजीकरण गर्दै आएको भन्दै उहाँले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका कामदारहरुका सन्ततिलाई छात्रवृत्ति सहायता उपलब्ध गराउन सहजीकरण गरिएको बताउनुभयो ।
कोषमा आवद्ध भएकामध्ये २६४ जनाले नियमित रुपमा रकम जम्मा गर्ने श्रमिकको सङ्ख्या २६४ जना रहेको छ ।
अनौपचारिक श्रेत्रका श्रमिकहरुको तर्फबाट हालसम्म ४२ लाख ५३ हजार एक सय रुपियाँ ९८ पैसा र गाउँपालिकाको तर्फबाट कोषमा थप गरिएको योगदान ३६ लाख ५० हजार ३६६ रुपियाँ ३९ पैसा पुगेको छ । गाउँपालिकाका अनुसार कोषमा ब्याजसहित ७९ लाख ३६ हजार ३५८ हजार रुपियाँ ३८ प्रसा जम्मा भएको छ ।
कोषमा आवद्ध भएका अनौपचारिक क्षेत्रका श्रमिकहरुले कोषबाट स्वास्थ्य उपचार र सुत्केरी भत्ताको सेवा सुविधा लिएको पाइएको छ ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत बराबरको रकम मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ ।
यस्तै, पालिकाले चालु आवमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई पालिकाको वडा १, ५ र ७ मा आयोजना सञ्चालन गरी रोजगारी उपलब्ध गराएको छ ।
