मुगु, असार १० गते ।
कर्णाली नदीको पानी लिफ्ट प्रविधिमार्फत गाउँसम्म पु¥याएर सिँचाइ सुविधा विस्तार गर्न लागिएपछि स्थानीयमा खुसियाली छाएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना मुगुले लामो समयदेखि सिँचाइको अभाव झेल्दै आएको रुगागाउँमा आधुनिक लिफ्ट सिँचाइ प्रणालीमार्फत सिँचाइ योजना निर्माण सुरु गरेको छ ।
यो आयोजनाबाट छायानाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका ८८ घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । कार्यालयका सिनियर डिभिजन प्रमुख तेजनारायण महतोका अनुसार नदीबाट करिब ३६० मिटर उचाइमा पानी तानेर पोखरीमा सङ्कलन गरिने छ । त्यसपछि उक्त पानीलाई सिँचाइका लागि गाउँभरि वितरण गरिने छ ।
छायानाथ रारा नगरपालिका–१३ का स्थानीय रतन बडुवालका अनुसार रुगागाउँमा सिँचाइको सुविधा नहुँदा अधिकांश खेतीयोग्य जमिन अहिलेसम्म पनि बाँझै छन् । बडुवालले भन्नुभयो, “लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएपछि वर्षभरि तरकारी तथा अन्य बाली उत्पादन गर्न सहज हुने छ भने स्थानीय बासिन्दालाई कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्ने छ ।” स्थानीय किसान बर्सौंदेखि आकासे पानीको भरमा खेती गर्न बाध्य थिए । अब भने यस्तो कठिनाइको अन्त्य भएकोमा उहाँले आयोजनाप्रति आभार प्रकट गर्नुभयो । उक्त योजना एक करोड ७६ लाख ९१ हजार २३५ रुपियाँ लागतमा निर्माण सम्पन्न गरिने जनाइएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, मुगुले गाउँमा सिँचाइ सुविधा विस्तार गरी कृषि उत्पादन वृद्धि, तरकारी खेती प्रवर्धन तथा स्थानीय बासिन्दाको आयआर्जन र जीविकोपार्जनमा टेवा पु¥याउने लक्ष्य रहेको जनाएको छ ।