बागलुङ (गलकोट), असार ९ गते ।
बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८८ लाख रुपियाँको बजेट तथा वार्षिक नीति–कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख हरिहर शर्माले बजेट प्रस्तुत गर्नुभएको थियो भने नगरप्रमुख नरबहादुर पुनले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो।
नगरपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ। सार्वजनिक भवन, सिँचाइलगायतका पूर्वाधार विकासका लागि ११ करोड ८२ लाख ९१ हजार ४४२ रुपियाँ विनियोजन गरिएको छ। ‘दिगो र वातावरणमैत्री पूर्वाधार, जैमिनी नगर समृद्धिको आधार’ भन्ने नारासहित नगरका १३ वटै रणनीतिक सडकको स्तरोन्नति तथा बाह्रै महिना सञ्चालनयोग्य बनाउन प्रतिवटा सडकका लागि १० लाख रुपियाँका दरले कुल एक करोड ३० लाख रुपियाँ विनियोजन गरिएको छ।
संघीय सरकारको समपूरक अनुदानमा साझेदारी गर्दै कालीगण्डकी करिडोरअन्तर्गत कुस्मिसेरा–दमके–बनहुँ–गाजादह–मध्यपहाडी लोकमार्ग सडकका लागि ७० लाख रुपियाँ तथा प्रदेश समपूरक अनुदानमा साझेदारी गर्दै न्यार–ढिक–धुल्लु–बिहारथला सडकका लागि एक करोड २० लाख रुपियाँ बजेट व्यवस्था गरिएको छ।
सामाजिक विकासतर्फ पाँच करोड ६६ लाख ९३ हजार ५५८ रुपियाँ विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा लिड विद्यालय, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा प्रधानाध्यापकलाई दिँदै आएको प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिँदै एक करोड १३ लाख रुपियाँ छुट्याइएको छ। उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।
स्वास्थ्यतर्फ नगरपालिकाले स्थापना गरेको ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’लाई थप प्रभावकारी बनाउन ३० लाख रुपियाँ विनियोजन गरेको छ। सबै वडामा ग्रामीण भिडियो एक्स–रे सेवा सञ्चालन तथा पूर्ण संस्थागत प्रसूतिलाई दिगो बनाउने नीति लिइएको छ।
आर्थिक विकासतर्फ एक करोड ८८ लाख २५ हजार रुपियाँ विनियोजन गरिएको छ। ‘जैमिनीको सान, परिचययुक्त किसान’, निःशुल्क नश्ल सुधार तथा दुग्ध उत्पादन कार्यक्रम, ‘हरेक खेतमा सिँचाइ, हरेक किसानमा समृद्धि’ अभियान तथा किसानका लागि निःशुल्क कल सेवा सञ्चालन गरिने भएको छ। चर्चित ‘सेरा जाऔँ, केरा खाऔँ’ कार्यक्रमलाई निरन्तरता दिँदै १२ लाख रुपियाँ विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्ष ‘गाउँ फर्कौँ, आफ्नै गाउँ बनाऔँ’ नीति अवलम्बन गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँमै उद्यम गर्न चाहने युवालाई घुम्ती कोषमार्फत स्वरोजगार र उद्यमशीलतामा जोड्ने लक्ष्य राखिएको छ। साथै ‘फर्किएका युवा गाउँको शक्तिः उद्यम विकास, समृद्धिको आधार’ कार्यक्रम सञ्चालन गरिने भएको छ।
कृषि क्षेत्रमा प्राङ्गारिक मल उद्योग स्थापना, बाँझो जमिनको उपयोग, उत्पादनका आधारमा क्षेत्रगत कृषि प्रवर्द्धन तथा सिँचाइ विस्तार गर्ने नीति लिइएको छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको प्रवर्द्धनसँगै राष्ट्रिय दलित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्ने आधार तयार गरिने उल्लेख गरिएको छ।
वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ६१ लाख ४० हजार रुपियाँ विनियोजन गरिएको छ। वातावरण संरक्षणअन्तर्गत १० हजार आठ वटा वर, पिपल र समीका बिरुवा रोप्ने अभियान सञ्चालन गरिनेछ। खानेपानीका मुहान, कुवा, चौतारा तथा सार्वजनिक पोखरी निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।
आवासविहीन परिवारका लागि घर निर्माण गर्न ३१ लाख ५० हजार रुपैयाँ तथा खरका छाना विस्थापन कार्यक्रमका लागि चार लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ। नगरपालिकाले सुकुमवासीमुक्त पालिका घोषणा अभियानलाई पनि निरन्तरता दिने जनाएको छ।
शिक्षातर्फ ‘गुणस्तरीय शिक्षाको आधारशिला, सुधारिएको पाठशाला’ नारासहित ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिने भएको छ। प्राविधिक धार सञ्चालित शान्ति माध्यमिक विद्यालयमा एआई ल्याब स्थापना, एसइईका विद्यार्थीका लागि मुख्य विषयमा अनलाइन कक्षा सञ्चालन तथा विद्यालयबाहिर रहेका बालबालिकाको संख्या शून्यमा झार्ने अभियान अगाडि बढाइने भएको छ। सामुदायिक विद्यालयमा जंकफुड निषेध गरी दिवाखाजा मेनु कार्यान्वयन गर्ने नीति पनि लिइएको छ।
सूचना प्रविधितर्फ नगर केन्द्र कुस्मिसेरामा निःशुल्क वाइफाइ सेवा विस्तार गरिने भएको छ। बजार सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन, सौर्य बत्ती जडान तथा अव्यवस्थित पोल र तार व्यवस्थापनका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। निर्माणाधीन प्रशासकीय भवन आगामी मंसिरभित्र सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ।
नगरपालिकाले चालुतर्फ १२ करोड ६५ लाख रुपियाँ र पुँजीगततर्फ ४२ करोड ५४ लाख रुपियाँ विनियोजन गरेको छ। संघीय तथा प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँट, सडक बोर्ड नेपाल, आन्तरिक स्रोत तथा गत वर्षको मौज्दात रकमबाट बजेट व्यवस्थापन गरिने जनाएको छ।