मियामी, असार ९ गते ।
विश्वकप फुटबल प्रतियोगितामा नवप्रवेशी केप भेर्डेको जादुई सुरुवात जारी रहेको छ । पाँच लाख जनसङ्ख्या मात्र भएको केप भेर्डेले पहिलो खेलमा उपाधि दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । केप भेर्डेले सोमबार अर्को स्तब्धकारी नतिजा निकाल्ने व्रmममा दुई पटकको विजेता उरुग्वेसँग २–२ ले बराबरीमा खेल्यो । खेलको २१ औँ मिनेटमा केभिन पिनाले फ्रिकिकमा सशक्त प्रहारमार्फत गोल गरी केप भेर्डेलाई अगाडि पार्नुभएको थियो । जुन गोल केप भेर्डेको विश्वकपमा पहिलो गोल भयो ।
पूर्वार्धको अन्तिम समयमा लगातार दुई गोल गरेर उरुग्वे खेलमा फर्कियो । उरुग्वेका म्याक्सी अराउजो र अगस्टिन कानोबियोले गोल गर्नुभयो तर केप भेर्डेले आत्मसमर्पण गरेन । खेलको ६१ औँ मिनेटमा हेलियो भारेलाले उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराको गल्तीमा गोल गरी केप भेर्डेलाई अर्को अङ्क दिलाउनुभयो । आफ्नो पहिलो विश्वकपका सुरुवाती दुई खेलमै पूर्वविश्वकप विजेता टिमलाई बराबरीमा रोकेपछि अब केप भेर्डेले अन्तिम खेलमा साउदी अरबलाई हराएर नकआउट चरणमा पुग्ने सपना देखेको छ ।
स्पेनको पुनरागमन
विश्वकप २०२६ को पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरीमा रोकिएको युरोपेली च्याम्पियन स्पेनले आफ्नो दोस्रो खेलमा साउदी अरबलाई ४–० ले हराएर सानदार पुनरागमन गरेको छ । चोटका कारण पछिल्ला केही खेलमा बेन्चमा रहेका लामिने यमालले साउदी अरबविरुद्ध पहिलो रोजाइमै खेल्नुभयो । उहाँले खेलको १० औँ मिनेटमा गोल गरी स्पेनमाथिको दबाब कम पार्नुभयो । मिकेल ओयरजाबलको पासमा यमालले गोल गर्नुभएको हो । त्यसपछि ओयरजाबलले लगातार दुई गोल गरेपछि स्पेनले २४ मिनेटमै तीन गोलले अग्रता बनाइसकेको थियो । उत्तरार्धको चौथो मिनेटमा स्पेनले चौथो गोल प्राप्त ग¥यो । मार्क कुकुरेलाको प्रहारलाई गोलरक्षक मोहम्मद अल ओवाइसले जोगाए पनि बल डिफेन्डर हसन अल ताम्बाक्तीलाई लागेर गोलपोस्टमा छिरेपछि साउदीले आत्मघाती गोल बेहोरेको थियो ।
स्पेनका प्रशिक्षक लुइस डी ला फुएन्टेले पहिलो खेलमा मिलेको आलोचनाले आफ्नो टिमलाई राम्रो खेल्न प्रेरित गरेको बताउनुभयो । “जब कसैले तपाईंको राम्रो काममा पनि आलोचना गर्छ भने प्रतिष्ठा र गर्व बोकेको व्यक्तिले अझ राम्रो काम गरेर ती व्यक्तिलाई गलत साबित गर्ने कोसिस गर्छ,” उहाँले भन्नुभयो । साउदी अरबलाई हराएपछि स्पेन समूह ‘एच’ मा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ ।
इजिप्टको जितमा सलाहको गोल
इजिप्टले सोमबार न्युजिल्यान्डमाथि ३–१ को पुनरागमन जित प्राप्त गरेर समूह ‘जी’ मा शीर्ष स्थान बनाएको छ । इजिप्टले दुई खेलबाट चार अङ्क बनाएको छ । बेल्जियम र इरानको २/२ र न्युजिल्यान्ड १ अङ्कमा रहेका छन् । इजिप्टका लागि मोहम्मद सलाह, मोस्तफा जिको र स्थानापन्न खेलाडी ट्रेजिगुएटले गोल गर्नुभयो । अन्तर्राष्ट्रिय खेलका सुपरस्टार फुटबलर सलाहको गोलसङ्ख्या ६८ पुगेको छ । पछिल्लो संस्करणमा विश्वकपमा छनोट हुन नसकेको इजिप्टका लागि सन् २०१८ मा भएको विश्वकपमा सलाहले दुई गोल गर्नुभएको थियो ।
खेलको १५ औँ मिनेटमा फिन सरमनले न्युजिल्यान्डलाई अग्रता दिलाएपछि इजिप्टले खेल उल्ट्याएको हो । खेलको ५८ औँ मिनेटमा जिकोले खेल बराबरीको स्थितिमा ल्याउनुभयो । त्यसपछि सलाह र ट्रेजिगेटले इजिप्टलाई जित दिलाउनुभयो ।
बेल्जियम–इरान बराबर
विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा १० खेलाडीमा सीमित बनेको बेल्जियमले सोमबार इरानलाई गोलरहित बराबरीमा रोेकेको छ । बेल्जियमले पहिलो खेलमा इजिप्टसँग पनि बराबरीमा खेलेको थियो । खेलको २५ औँ मिनेटमा इरानका मेहदी तेरामीले फ्रिकिकको सहयोगमा गोल गर्नुभएको थियो तर भारले जाँच गरेपछि अफसाइड भन्दै सो गोललाई अमान्य घोषित गरियो । खेलको ६६ औँ मिनेटमा बेल्जियमका नाथन एनगोयले रातो कार्ड पाएपछि इरानलाई खेल सहज हुने अनुमान गरिएको थियो तर बेल्जियमले एक खेलको बेफाइदामा पनि तुलनात्मक रूपमा बल बढी आफ्नो नियन्त्रणमा राख्यो । इरानका गोलरक्षक अलरेजाले बेल्जियमका सात गोल हुने खालका प्रहार जोगाउनुभएको थियो ।