न्युयोर्क, असार ८ गते ।
उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र अस्ट्रियाले एकअर्कासँग सोमबार खेल्दा दुवैको नजर नकआउट चरणमा हुने छ । यी दुवैले आआफ्नो पहिलो खेल सहजै जितेका थिए ।
लियोनेल मेसीको प्रेरणादायी ह्याट्रिकको सहयोगमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० र अस्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको थियो । मेसी अहिले विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मिरोस्लाभ क्लोजसँगै बराबरीको स्थितिमा हुनुहुन्छ । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ । अस्ट्रियाविरुद्धको जितले अर्जेन्टिनालाई अन्तिम ३२ को सँघारमा मात्र होइन, समूह विजेता नै बन्न सहयोग पु¥याउने छ । अस्ट्रियाको हकमा पनि सोही समीकरण रहेको छ ।
अस्ट्रियाविरुद्धको खेलमा ३८ वर्षीय मेसीमै सबैको ध्यान केन्द्रित हुने पक्का छ । अस्ट्रियाका कप्तान डेभिड अल्बाले भन्नुभयो, “मेसीले पहिलो खेलमा असाधारण ह्याट्रिक गर्नुभयो । आशा गरौँ, मेसीले हामीविरुद्ध सोही लय कायम गर्नुहुने छैन ।” उहाँले मेसी मात्र होइन, अर्जेन्टिनाको टिम नै राम्रो भएको बताउनुभयो ।
अस्ट्रियाले सङ्गठित भएर आक्रमण गर्ने आफ्नो खेलबाट अर्जेन्टिनालाई समस्यामा पार्ने अपेक्षा गरेको छ । अर्जेन्टिनाका सहायक प्रशिक्षक पाब्लो आइमारले अस्ट्रियालाई धेरै कडा टिम मान्दै उसले फरक चुनौती दिन सक्छ भनी आफ्ना खेलाडीलाई चेतावनी दिनुभएको छ ।
अर्जेन्टिना र अस्ट्रियाबिच अहिलेसम्म मात्र दुई खेल भएका छन् । सन् १९९० मा अस्ट्रियाले अर्जेन्टिनासँगको मैत्री खेलमा १–१ ले बराबरीमा खेलेको थियो तर सन् १९८० मा भएको खेलमा भने अर्जेन्टिनाले अस्ट्रियालाई ५–१ ले पराजित गरेको थियो । समूह ‘जे’ मै रहेका अन्य दुई टिम जोर्डन र अल्जेरियाले नकआउट चरणमा आफ्नो सम्भावना कायम राख्न सोमबार एकअर्काको सामना गर्ने छन् । एसियाली टिम जोर्डनले अस्ट्रियाविरुद्धको हारमा पनि ‘इन्ड टु इन्ड’ फुटबल खेलेको थियो ।
खेलको धेरै समय बराबरीको स्थितिमा रहेको जोर्डनले डिफेन्डर याजन अल अरबले आत्मघाती गोल गरेपछि मात्र लय गुमाएको हो । अब हारपछि जोर्डनसमक्ष अल्जेरियाविरुद्धको खेलमा पनि आक्रामक रणनीति अपनाउनुको विकल्प छैन । किनभने उसले समूह चरणको अन्तिम खेलमा च्याम्पियन अर्जेन्टिनाविरुद्ध खेल्नुपर्ने छ ।
यद्यपि सो खेलमा अल्जेरियालाई नै बढी भाउ दिइएको थियो । दुई पटकको अफ्रिकी च्याम्पियन अल्जेरियाले पछिल्लो पटक सन् २०१४ मा विश्वकप खेल्दा प्रिक्वाटरफाइनलसम्मको यात्रा गरेको थियो । सो समय चयाम्पियन बनेको जर्मनीसँग अल्जेरिया अतिरिक्त समयमा पराजित भएको थियो ।
फ्रान्सेली टिममा फेरबदलको सम्भावना
विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘आई’ मा फ्रान्सले आफ्नो दोस्रो खेलमा इराकविरुद्ध खेल्दा केही फेरबदल गर्ने अपेक्षा गरिएको छ ।
पहिलो खेलमा सेनेगललाई ३–१ ले हराए पनि फ्रान्सको डिफेन्स समय समयमा कमजोर देखिएको थियो । यद्यपि आफ्ना प्रमुख स्ट्राइकर किलियन एम्बापेले दुई गोल गरेर लय देखाएपछि भने फ्रान्सलाई ठुलो राहत मिलेको छ । फ्रान्सको बेन्च पनि बलियो भएकाले प्रशिक्षक डिडियर डेस्चाँले इराकसँगको खेलमा केही फेरबदल गर्न सक्ने अनुमान गरिएको हो । प्रशिक्षक डेस्चाँले लेफ्ट फ्लान्कमा डिजाइरी डोवेको स्थानमा ब्राडली बार्कोला र थियो हर्नान्डेजको स्थानमा लुकास डिग्नेलाई खेलाउनुहुने सम्भावना छ । मिडफिल्डमा पनि मानु कोनेले पहिलो रोजाइमा स्थान पाउन सक्नुहुन्छ ।
एम्बापेसँग माइकल ओलिस र ओसमान डेम्बेले भएको फ्रान्सको अग्रपङ्क्ति यस विश्वकपकै सबभन्दा खतरनाक मानिएको छ । त्यसैले इराकलाई फ्रान्सविरुद्धको खेल कठिन हुने छ । इराकले पहिलो खेल नर्वेविरुद्ध ४–१ ले गुमाइसकेको छ । त्यसैले नकआउट चरणको सम्भावनालाई कायम राख्न इराकलाई हार्ने छुट छैन ।
सोही समूहमा सोमबार राति नर्वे र सेनेगलले पनि एकअर्कासँग खेल्दै छन् । पहिलो खेलमा फ्रान्ससँग हारेको सेनेगललाई नकआउटको सम्भावना कायम राख्न नर्वेसँग अनुकूल नतिजा निकाल्नुपर्ने छ । सेनेगलले फरवार्ड साडियो माने र निकोलस ज्याक्सनबाट आशा राखेको छ तर सेनेगललाई नर्वेका स्ट्राइकर इर्लिङ हालान्डको सानदार लयले उत्तिकै तर्साएको पनि छ । हालान्डले इराकविरुद्धको खेलमा दुई गोल गर्नुभएको थियो । सेनेगलविरुद्धको जितले नर्वेको नकआउट चरण पक्का हुने छ ।