काठमाडौँ, असार ८ गते ।
नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसद्मा अझै सशक्त बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम र कमजोरीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो । महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसद्मा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले संसद्मा कांग्रेस सांसदले राष्ट्रिय महत्वका विषय र जनताका समस्यालाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिरहेको बताउनुभयो । उहाँले संसदीय दललाई थप क्रियाशील बनाउन र पार्टीको नीति अनुरूप संसद्मा भूमिका खेल्नका लागि संसदीय दल र पार्टीबिचको समन्वयलाई अझै सुदृढ बनाइने प्रस्ट पार्नुभयो ।
बैठकमा सरकारका कामबारे पनि समीक्षा भएको छ । महामन्त्री पौडेलले सरकारले सय दिने कार्यकालका लागि गरेको प्रतिबद्धता पूरा गर्न नसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले सय दिनमा सय काम गर्ने प्रतिबद्धता जनाएको थियो तर कतिपय महत्वपूर्ण विषयमा छलफलसमेत हुन सकेको छैन । सरकारले जनअपेक्षा अनुसार काम गर्नु पर्छ । कांग्रेसको निष्कर्ष यही हो ।”
असन्तुष्टि व्यवस्थापन विधिबाटै
महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने बताउनुभयो । उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र १५ औँ महाधिवेशनसम्ममा असमझदारी अन्त्य गरेर पार्टी अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने अवसरबाट कोही पनि वञ्चित हुने छैनन् । अहिले आपसी समझदारी र छलफलमार्फत अगाडि बढ्ने प्रयास गरिरहेका छौँ ।”